
काठमाडौं,६ असार(रासस)। जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा बुधबार मौसमी बेलुन उडाइएको छ ।बुधबारको मौसमी बेलुनको उडानको शुभारम्भ त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले संयुक्तरुपमा गरेका थिए ।
कीर्तिपुरबाट बिहान ५ बजेर ३७ मिनेटमा पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान साढे ५ बजे यस्ता बेलुन सोही स्थानबाट उडाइने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए ।
बेलुन १९ किलोमिटरमाथि आकाशमा पुगी बिहान सवा ८ बजे सुन्दरीजल आसपासमा खसेको थियो । हाइड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ ।
बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्यांक पठाउने शर्माले बताए । बुधबार उडाइएको मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड रहेको थियो ।
बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पारेमा विभागमा पुर्याइदिन वा सम्पर्क गर्न जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
यससम्बन्धी सूचना उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ ।
त्रिविमा बुधबार आयोजित छलफल कार्यक्रममा रजिष्ट्रार डिल्लीराम उप्रेतीले माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आर्द्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमीनमा पठाउन मौसमी बेलुन उडाइने तयारी गरिएकोे जानकारी दिए। ‘
अहिले हाम्रो मौसमको पूर्वानुमान लखनऊको केन्द्रविन्दु मानेर गरिन्छ’, उनले भने, ‘त्यसले नेपालको मौसमको पूर्वानुमानलाई सत्यता दिन सकेको छैन। अब हामीले हाम्रो देशबाट उडाइने बेलुनबाट मौसमसम्बन्धी सही सूचना पाउनेछौँ।’
जल तथा मौसम विभागका महादिर्शेशक डा. ऋषिराम शर्माले मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन सरकारले जर्मनेली प्रविधिको सहयोगमा मौसमी बेलुन उडाउन थालेको बताए। उनले यसअघि पनि मौसमी बेलुन उडाएर प्रयास गरिए पनि प्रविधि खर्चिलो भएकाले अहिले पुनः कार्यान्वयनमा अघि बढेको जानकारी दिए।
अहिले त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग,नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चालन गरिने योजना रहेको विभागका प्रमुख प्राडा दीपक अर्यालले जानकारी दिए।
बेलुन ३०–४० किमी माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउनेछ र सोही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिनेछ। बेलुन उडाउँदा दैनिक २०० अमेरिकी डलर खर्च हुने बताइएको छ।