
हेटौडा(मकवानपुर), ६ असार । नेपाली कांग्रेसका सात जना युवा नेताहरुले पार्टीको वर्तमान नेतृत्वले देशको आवश्यकता र कार्यकर्ताको चाहना पूरा गर्न नसक्ने भएकोले वैकल्पिक नेतृत्व खोज्न हेटौडामा जम्मा भएका ७७ जिल्लाका पार्टी सभापतिसमक्ष अपिल गरेका छन् ।
ममंगलबारदेखि मलवानपुरको हेटौँडामा शुरु भएको कांग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित वर्तमान शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह हुन नसक्ने बताएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल र रामकृष्ण यादवले अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगका लागि नयाँ एजेण्डा बोकेर हिँड्न सक्ने गरी संगठनको खाका कोर्न जरुरी भएको र त्यस्तो एजेण्डा बोक्न सक्ने नेतृत्वको आवश्यकता औँल्याए ।
अहिलेको कम्युनिष्ट शक्तिसँग प्रतिस्पर्धा गर्ने र हिजोकोभन्दा पनि बलियो तथा जनमुखी संगठनका रुपमा कांग्रेसलाई डोर्याउने नेतृत्व चाहिएको बताउदै उनीहरुले भनेका छन्,“यसका लागि कांग्रेस स्वयं रुपान्तरित हुनुपर्ने र यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान हो” ।
कांग्रेसले उठाएको विचार र राजनीतिक सोच राष्ट्रिय राजनीतिमा प्रभाबकारी हुँदा पनि पार्टी स्वयंले भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएकोले जनताका पक्षमा काम गर्ने अवसर पाउँदा कांग्रेस चुकेका छिद्रहरु पत्ता लगाउन बृहत्त समीक्षाको खाँचो भएको उनीहरुले बताएका छन् ।
युवा नेताहरुले राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खबरदारीका लागि तथा लोकतन्त्र र संघीयताको सफल कार्यान्वयनका लागि कांग्रेसलाई सबल बनाउन सबल नेतृत्वको खाँचो रहेको औल्याइएको छ ।
केन्द्र तथा सबै प्रदेशमा रचनात्मक ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने र पार्टीलाई संविधानले मार्गनिर्देश गरेअनुरुप तत्काल संघीय प्रणालीमा पार्टीको पुनःसंरचना गर्नुपर्ने आवश्यकतालाई पनि युवा नेताहरुले उठाएका छन् ।