Prakash Adhikari June 20, 2018

लण्डन(संयुक्त अधिराज्य),६ असार (एजेन्सी) । ब्रिटेनस्थित एउटा अस्पतालमा दुखाइ कम गर्ने शक्तिशाली औषधि अनुपयुक्त ढङ्गले दिइएका कारण ४५० जनाभन्दा बढी विरामीको ज्यान गएको एउटा प्रतिवेदनले जनाएको छ।

एउटा स्वतन्त्र छानबिन टोलीका अनुसार हराइरहेका अभिलेखहरूलाई समेत विचार गर्दा थप २०० जना बिरामीको पनि सोही कारणले मृत्यु भएको हुनसक्छ।

उक्त प्रतिवेदनका अनुसार सन् १९८९ देखि २००० सम्म सो गोस्पोर्ट वार मेमोरिल अस्पतालमा ठूलो सङ्ख्यामा बिरामीहरूको जीवनमाथि हेलचेक्र्याइँ भएको थियो।

ब्रिटेनका स्वास्थ्यमन्त्री जेरमी हन्टले यो घटनाका सम्बन्धमा क्षमायाचना गर्दै अस्पताल प्रशासनले नर्सिङ कर्मचारीहरूले व्यक्त गरेका चिन्तालाई बेलामा सम्बोधन गरेका भए थुप्रैको ज्यान जोगाउन सकिने थियो भनेका छन्।

उक्त छानबिन प्रतिवेदनमा भनिएको छ वार्डहरूमा रहेका बिरामीहरूलाई त्यस्तो घातक औषधि दिने अभ्यासको निगरानी डाक्टर जेन बार्टनले गरेकी थिइन्।

दोषी
उनलाई सन् १९९६ देखि १९९९ का बीचमा आफ्नो जिम्मेवारीमा रहेका १२ जना बिरामीको बेवास्ता गरेकोमा दोषी पाइएको थियो।

यो प्ररकणमा अनुशासनको कार्बाहीमा परेकी उनी मात्र हुन्। तर उनीविरुद्ध मुद्दा चलाइएको थिएन र चिकित्सकहरूको दर्ता अभिलेखबाट उनको नाम पनि हटाइएको थिएन।

उनले छानबिनको परिणाम आएपछि स्वेच्छिक अवकाश लिएकी थिइन्।

चिकित्सा विज्ञानको दृष्टिले उपयुक्त ठहर गर्न नसकिने मात्रामा “खतरनाक” औषधिहरू बिरामीलाई दिने अभ्यास उक्त अस्पतालमा ‘संस्थागत प्रचलन’ का रूपमा नै रहेको देखिएको सो प्रतिवेदनले जनाएको छ।

छानबिन
उक्त अस्पतालमा पाका मानिसहरूको अस्वाभाविक मृत्युका बारेमा गरिएको छानबिन प्रक्रिको नेतृत्व गरेका बिशप जेम्स जोन्सले गरेका थिए।

तस्वीर कपीराइटPA
उनले भनेका छन् सो अस्पतालमा अनावश्यक रूपमा नै बिरामीलाई ओपिओड भनिने दुखाइ काम गर्ने कडा औषधि दिएर “जिन्दगी छोट्याइदिने” काम हुने गरेको थियो।

पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूले उक्त अस्पतालमा भएका मृत्युहरूसँग सम्बन्धित दस्तावेजहरूको मात्र अध्ययन गरेको र घटनाका सम्बन्धमा कसैसँग सोधपुछ नगरिएको बताए।

सो अस्पतालमा मृत्यु भएकाहरूका परिवारजनले दशकौँदेखि न्यायका लागि सङ्घर्ष गरिरहेका छन्।

उक्त छानबिन टोलीले सो घटनाका सम्बन्धमा कार्बाही अघि बढाउन सरकार र प्रहरीलाई आह्वान गरेको छ।

Share Now

Leave a comment.