Prakash Adhikari June 20, 2018

न्यूयोर्क(संयुक्त राज्य अमेरिका),६ असार एजेन्सी(एजेन्सी) । ‘राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डो’ भएको भन्दै अमेरिकाले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अलग भएको घोषणा गरेको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले भनिन्, “पाखण्डी र आफ्नै सेवा गर्ने निकायले मानव अधिकारलाई मजाक बनाएको छ।”

उनले परिषद्का सदस्य राष्ट्रहरूले आफूकहाँ हुने मानव अधिकार उल्लघंनका घटनाबाट ध्यान मोड्न राम्रो अवस्था भएका देशहरूलाई निशाना बनाउने गरेको आरोप समेत लगाइन्।

गत वर्ष राजदूत हेलीले राष्ट्रसंघको मानव अधिकार परिषद् ‘इजरेलप्रति सधैँ पूर्वाग्रही’ भएको आरोप लगाउँदै अमेरिकाले आफ्नो सदस्यताबारे पुनर्विचार गरिरहेको बताएकी थिइन्।

आघात
सन् २००६ मा गठित जिनिभास्थित मानव अधिकार परिषद्ले मानव अधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकहरूलाई पनि आफ्नो सदस्य बन्न दिएकोमा आलोचना खेप्दै आएको छ।

तर अधिकारकर्मीहरू भन्छन्, विश्वभरि मानव अधिकार उल्लंघनका घटनाहरूको निरीक्षण र सम्बोधन गर्ने प्रयासमा अमेरिकाको पछिल्लो कदमले आघात पुर्‍याउन सक्छ।


राजदूत हेलीले विदेशमन्त्री माइक पोम्पेओसँगको एउटा संयुक्त पत्रकार सम्मेलनमा मानव अधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णयबारे घोषणा गरेकी हुन्।

पोम्पेओले परिषद्लाई मानव अधिकारको रक्षा गर्ने ‘निरीह निकाय’को संज्ञा दिए।

आलोचना
आफ्ना प्रवक्तामार्फत जारी गराएको एउटा वक्तव्यमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले ‘अमेरिका परिषद्‌मा रहिरहोस्’ भन्ने आफूले चाहेको बताएका छन्।

राष्ट्रसंघको मानव अधिकार निकायका प्रमुख जैद राद अल हुसैनले अमेरिका अलग हुनु ‘आश्चर्यजनक नभए पनि निराश तुल्याउने खालको भएको’ प्रतिक्रिया दिएका छन्।

इजरेलले चाहिँ अमेरिकी निर्णयको प्रशंसा गरेको छ।

अमेरिका-मेक्सिको सिमानामा आप्रवासी बालबालिकालाई उनीहरूको आमाबुवाबाट अलग राख्ने ट्रम्प प्रशासनको नीतिको चर्को आलोचना भइरहँदा अमेरिका राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अलग भएको हो।

Share Now

Leave a comment.