Prakash Adhikari November 6, 2024

काठमाडौं, २१ कार्तिक । संयुक्त राज्य अमेरिकामा ४७ औं राष्ट्रपति पदका लागि भएको मतदानमा अमेरिकी जनताले रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी विश्वास प्रकट गरेको देखिएको छ । मतदान सकिएका राज्यहरुमा भएको मतगणनामा राष्ट्रपतिका उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अधिक सफलता मिलेको छ ।

अमेरिकी न्यूज च्यानल सीएनएनले नेपाली समय अनुसार बिहान ८ः ०५ सम्म सार्वजनिक गरेको मत परिणाममा पूर्व राष्ट्रपति ट्रम्मले संसदका ५ सय ३८ इलेक्टोरल भोट मध्ये १ सय  ५४ भोट जितिसक्नु भएको छ । अमेरिकी राष्ट्रपति हुनका लागि अमेरिकी तल्लो सदनमा बहुमत सीटउहाँकी प्रतिस्पर्धी डेमोक्रयाटिक पार्टीकी उम्मेद्वार कमला ह्यारिसले ५३ भोट जित्नुभएको छ । यसले आगामी राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प विजयी बन्ने संभावना बलियो देखाएको छ ।

पदासीन उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपति बन्न निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो।

तर मतगणनाको परिणामले ट्रम्पप्रति मतदाताले अधिक विश्वास प्रकट गरेको देखाएको छ।

ह्यारिसले गर्भपतनको अधिकारसँगै कामकाजी परिवारका लागि खाना तथा आवासको खर्च कम गर्ने पैरवी गर्नुभएको थियो। ट्रम्पले आप्रवासीहरूको गैरकानुनी अमेरिका प्रवेश रोक्न सीमा बन्द गर्ने र खर्बौँसम्म कर कटौती गर्ने वाचा गर्नुभएको थियो ।

अमेरिकी इतिहासमा लामो समयपछि निकै महत्त्वपूर्ण रूपमा हेरिएको निर्वाचनअघि ठूला घटना र उतारचढावहरू देखा परेका थिए।

मतदानको मुख्य दिनअघि नै आठ करोडभन्दा धेरै अमेरिकीहरूले अग्रिम मत खसालिसकेका छन्।

राष्ट्रपति निर्वाचनअघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको दुई पटक हत्या प्रयास भएको थियो। डेमोक्र्याटिक पार्टीको उम्मेदवार बनेका राष्ट्रपति जो बाइडन प्रतिस्पर्धाबाट बाहिरिएपछि उहाँको स्थानमा ह्यारिस उम्मेदवार बन्नुभएको हो ।

दुवै पक्षका उम्मेदवारहरूले चुनावी प्रचार र विज्ञापनमा अर्बौँ डलर खर्च गरेका छन्। मतसर्वेक्षणहरूले दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने र मतान्तर निकै कम हुने देखाएका थिए ।

मतदानले अरू केके निर्णय गर्दै छ ?

अमेरिकी मतदाताहरूले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्‌का सदस्यहरू चयनका लागि पनि मत हाल्दै छन्। कतिपय राज्यमा गर्भपतनको अधिकारबारे पनि मतदानबाट निर्णय हुँदै छ।

मत सर्वेक्षणहरूले अमेरिकी संसद्का दुवै सदनमा अहिले रहेको नियन्त्रणमा हेरफेर हुने देखाएका छन्। कुल ४ सय ३० सीट रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदन र ३४ सीट रहेको सिनेट भनिने माथिल्लो सदनमा बहुमत पुर्‍याउन दुवै पक्षले प्रयास गरिरहेका छन्।

विश्लेषकहरूले माथिल्लो सदन भनिने सिनेटमा रिपब्लिकनहरूले आफ्नो पुरानो नियन्त्रण फर्काउने आकलन गरेका छन्। डेमोक्र्याटहरूले प्रतिनिधिसभामा नियन्त्रण कायम गर्ने आकलन भएका छन्। यसमा बहुमतका लागि उक्त दललाई अहिले भएको भन्दा केही सीट मात्रै थप गरे पुग्ने अवस्था छ।

अमेरिकी सदनहरूमा हुने बहुमतले सन् २०२६ मा हुने अर्को कङ्ग्रेसको निर्वाचनअघिसम्म राष्ट्रपतिले गर्ने शासनलाई प्रत्यक्ष असर पुर्‍याउन सक्छ।

संसद्‌का यी दुई सदनले कानुनहरू पारित गर्नुका साथै ह्वाइट हाउसमाथि नियन्त्रणको काम गर्छन्। राष्ट्रपतिको योजना कुनै सदनमा बहुमत रहेको पार्टीलाई चित्त नबुझे त्यसको कार्यान्वयन गर्न ह्वाइट हाउसलाई अप्ठ्यारो पर्न सक्छ।

अमेरिकाका नयाँ राष्ट्रपतिले ज्यानुअरी २०, २०२५ सोमवार देशको संसद् यूएस क्यापिटलको परिसरमा आयोजना गरिने विशेष समारोहमा शपथग्रहण गर्ने छन्।

Share Now