Prakash Adhikari November 6, 2024

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ६ नोभेम्बर । अमेरिकाको ४७ औं राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले विस्कन्सिनपछि अलास्का राज्यमा पनि विजय पाउनुभएको छ। यससँगै उहाँले २ सय ७९ इलेक्टोरल कलेज मत पाउनुभएको छ। राष्ट्रपति निर्वाचित हुनका लागि कूल इलेक्ट्रोरल कलेजका ५ सय ३८ मत मध्ये बहुमत २ सय ७० मत आवश्यक पर्दछ । यो नै आवश्यकता भन्दा ९ मत बढी हो । अझै केही राज्यका निर्वाचन परिणाम आउन बाँकी नै छ ।

डेमोक्रेटिक पार्टीकी राष्ट्रपतिका उम्मेद्वार वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा इलेक्टोरल कलेज मत अहिले २ सय २३ पुगेको देखिएको छ।

अमेरिकामा लोकप्रिय मतले नभई राज्यहरूलाई छुट्ट्याइएको मतभार अर्थात् इलेक्टोरल कलेज मतका आधारमा राष्ट्रपति निर्वाचित गरिन्छ।

अमेरिकाको नक्सा र मतपरिणाम

गजबको पुनरागमन

सन २०१६ को निर्वाचनमा डेमोक्रयाट पार्टीकी चर्चित उम्मेदवार हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको आठ वर्षपछि सोही पार्टीकी अर्की चर्चित महिला उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउस फर्किने निश्चित भएको छ।

सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनापश्चात् नराम्ररी बिग्रिएको छवि लिएर उहाँ राष्ट्रपतिको पदबाट बिदा हुनुभएको थियो। अहिलेको विजयबाट उहाँको गजबको पुनरागमन भएको छ।

त्यतिखेर डेमोक्र्याटहरूका अतिरिक्त कतिपय रिपब्लिकनहरूले पनि ट्रम्पको चर्को निन्दा गरेका थिए। त्यसपछि उहाँले थालेको चार वर्ष लामो राजनीतिक यात्राले अन्ततः उहाँलाई अमेरिकी राजनीतिको सर्वोच्च पदमा पुर्‍याएको छ।

र्‍यालीहरूमा उहाँको भाषण सुन्दा बेलाबेला विषयवस्तुमा ध्यानकेन्द्रित नभएको अनि जथाभावी बोलेको सुनिन्थ्यो। तर उहाँले आफूवरपर दक्ष तथा व्यावसायिक सहयोगीहरू राख्नुभयो। अमेरिकीहरूले ट्रम्पमाथि खास गरी दुईवटा विषयमा भरोसा गरेको सर्वेक्षणहरूले देखाए – आप्रवासन तथा अर्थतन्त्र। अनि उहाँको निर्वाचन अभियानले यिनै विषय निरन्तर उठाइरह्यो।

निर्वाचन प्रचार सुरु भएपछि बाइडनको साटो कमला ह्यारिस मैदानमा आएपछि ट्रम्पको टोली थोरै अनिश्चयमा परेको देखियो। तर चाँडै नै पूर्वराष्ट्रपति सम्हालिनुभयो अनि शासनमा रहेकाहरूको विरोधमा रहेको जनमतको बलमा अघि बढ्नुभयो।

अब उहाँसँग अमेरिकी शासन चलाउन चार वर्ष छ – यसपालि उहाँको पछाडि अझ परिस्कृत राजनीतिक सङ्गठन पनि छ जो उनका चुनावी वाचाहरूलाई कार्यान्वयन गर्न तत्पर देखिन्छ।

Share Now