Prakash Adhikari June 21, 2018

बैइजिड.(चीन) ७ असार(बीबीसी) । नेपाल र चीनबीच बहुचर्चित रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन अबको साढे दुई महिनामा पूरा गर्ने समझदारी भएको छ।

प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षी ली खच्याङबीच बेइजिङमा बिहीवार भएको भेटपछि दुवै देशका उच्चपदस्थ अधिकारीहरूबीच त्यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार सम्भाव्यता अध्ययन चाहिँ पूर्वसम्भाव्यता सकिएलगत्तै थाल्ने सहमति भएको छ।

बेइजिङबाट बीबीसीसँग लम्सालले भने, “पूर्वसम्भाव्यता अध्ययन अगस्ट महिनासम्ममा सक्ने र सम्भाव्यता त्यसपछि सुरु गर्ने भन्ने कुरा समझदारीपत्रमा छ।”

ओली र ली
सम्भाव्यता अध्ययनलाई चिनियाँहरूले विस्तृत योजना प्रतिवेदनकै रुपमा हेर्छन्।

वित्तीय प्रारूप कस्तो?

लम्सालका अनुसार यसपटक रेलमार्ग कसरी बनाउने भन्ने वित्तीय प्रारूपबारे भने छलफल भएन।

नेपालले चिनियाँ अनुदानमै रेलमार्ग बनाइदिन यसअघि अनुरोध गर्दै आएको थियो।

सम्भाव्यता अध्ययनपछि वित्तीय प्रारूपबारे स्पष्ट हुने ठानिएको छ।

सम्भाव्यता अध्ययनको निश्चित अवधि नतोकिएपनि अनौपचारिक रूपमा अधिकारीहरू त्यो काम डेढ वर्षमा सक्ने लक्ष्य रहेको बताउँछन्।

ओली दम्पती र ली खच्याङ

बेइजिङ विश्वविद्यालयमा प्रधानमन्त्री
रेलमार्गसहित चीनसँग यसपटक १४ वटा समझदारीपत्रमा हस्ताक्षर भएको अधिकारीहरूले बताएका छन्।

चीनस्थित नेपाली दूतावासका उपप्रमुख लम्सालका अनुसार नेपालमा सामान भित्र्याउन तिब्बती राजमार्गको प्रयोगबारे पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ।


यस्तै दुवै देशका परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्र गठनबारे पनि समझदारी भएको जनाइएको छ।

विभिन्न तहमा हुने उक्त संयन्त्रले दुई देश संलग्न परियोजनाहरूलाई तीव्रता दिन भूमिका निर्वाह गर्ने बताइएको छ।


भएन ‘प्रोटोकल’मा हस्ताक्षर
बहुचर्चित यातायात तथा पारवहन सम्झौताको विस्तृत विवरणसहितको दस्तावेज ‘प्रोटोकल’ मा भने यसपटक हस्ताक्षर भएन।

हस्ताक्षर किन नभएको भन्नेबारे औपचारिक जानकारी नदिइएको भएपनि नेपाली प्रस्तावमा चिनियाँ पक्षको धारणा आउन बाँकी रहेको बुझिएको छ।

प्रोटोकलबारे थप कुराकानी आगामी जुलाई महिनामा गर्ने सहमति दुवै पक्षबीच भएको अधिकारीहरूले जनाएका छन्।

Share Now

Leave a comment.