
रोम(इटाली) ७ असार(बीबीसी) । युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्ने युरोपेली सङ्घको योजनामा आफूलाई प्राथमिकतामा नराखे त्यसमा हस्ताक्षर नगर्ने चेतावनी इटलीले दिएको छ।
सीमामा कडाइ गर्न तथा गैरयुरोपेली आप्रवासीहरूको प्रवाह रोक्नका लागि १० ईयू सदस्य राष्ट्रका नेताहरू आफ्ना योजना तय गर्न आइतवार ब्रसल्समा भेला हुँदैछन्।
विन्दु
लिबियाको अस्तव्यस्तता र हिंसाका कारण भागेका अधिकांश अफ्रिकी आप्रवासीहरूका लागि इटली अहिले मुख्य आगमनविन्दु बनेको छ।
इटलीका उग्रदक्षिणपन्थी आन्तरिक मामिलामन्त्री माट्टेओ साल्भिनीले अब आफूहरूलाई सहयोगको आवश्यकता रहेको बताएका छन्।
उनले ट्वीट गर्दै भनेका छन्- यदि हामी फ्रान्स र जर्मनीले पहिले नै तयार पारेको गृहकार्य प्राप्त गर्नका लागि मात्र ब्रसल्स जाँदैछौँ भने प्रधानमन्त्रीले उक्त भ्रमणको खर्च बचत गर्नु उचित हुन्छ।
जुन २८ र २९ मा हुन लागेको ईयू शिखरसम्मेलनलाई ओझेलमा पार्दै आप्रवासन र शरण लिन चाहेकाहरूको मुद्दामाथि ईयूमा गम्भीर मतभेदका माझ ब्रसल्समा वार्ता हुन लागेको हो।
चाहना
इटलीको नयाँ गठबन्धनको सरकारले कागजात नभएका पाँच लाख आप्रवासीहरूलाई फिर्ता पठाउन चाहेको छ। तीमध्ये थुप्रैलाई सुविधारहित केन्द्रहरूमा राखिएको छ।
इटलीको सरकारी टेलिभिजनमा बोल्दै साल्भिनीले भने, “हामी एक वा दुई वर्षमा सहयोग गर्नेछौँ। तर त्यतिन्जेल त्यहाँ आइपुगेकाहरूलाई राखिराख्नुहोस्। बरु हामी अन्यलाई पठाउँछौँ भन्ने जस्तो शैली अस्वीकार्य छ।”
इटलीका प्रधामन्त्री जुजेपे कोन्टेले एउटा ईयू देशबाट अर्कोमा आप्रवासीहरूलाई सार्नुभन्दा तिनको आगमनको प्रवाह रोक्नु नै प्राथमिकता हो।
ती आप्रवासीमध्ये सिरियाली युद्ध वा अन्य द्वन्द्वबाट भागेका शरणार्थीहरू छन्। तीसँग सामान्यतया शरण पाउने अधिकार छ।
अघिल्लो हप्ता इटलीले छ सय ६० जना आप्रवासीहरू बोकेको एउटा जहाजलाई भित्रिन नदिएपछि उसको फ्रान्ससँग कूटनीतिक विवाद भएको थियो।