Prakash Adhikari June 22, 2018

काडमाडौं, ८ असार(बीबीसी) ।  हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले अर्को छिमेकी भारतको प्रसङ्ग समेत उप्काउँदै यी दुवै विशाल मुलुकबीच सहकार्यका लागि आह्वान गरेको परराष्ट्रमन्त्रीले बताएका छन्।

नेपाल दुईमध्ये एकसँग निकट भएको देखिँदा बेइजिङ र दिल्ली दुवै सशङ्क हुने गरेको बुझाइमाझ ओलीको त्यस्तो आग्रहलाई यी उदीयमान महाशक्तिबीच सन्तुलन मिलाउने प्रयासका रूपमा कतिपयले अर्थ्याएका छन्।

ओलीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली पक्षको आग्रहप्रति चीनको नेतृत्व तहले सकारात्मक प्रतिक्रिया जनाएको र नेपाल, भारत तथा चीनबीच त्रिदेशीय साझेदारीमा जोड दिएको पनि जनाए।

सामान्यतया द्विपक्षीय भेटवार्तामा तेस्रो मुलुकको प्रसङ्ग विरलै उठाउने गरिन्छ। अझ नेपाल-चीनको हकमा त्यो विषय झन् संवेदनशील मानिने गरेको छ।

साझेदारी
प्रधानमन्त्रीका रूपमा ओलीले दुई वर्षअघि गरेको पहिलो चीन भ्रमणमा चिनियाँ राष्ट्रपति स्वयंले भारत र चीनको विकासबाट लाभ लिन नेपाललाई आग्रह गर्नुका साथै त्रिदेशीय साझेदारीका विषय उठाएका थिए।

नाकाबन्दीपछि भएको उक्त भ्रमणमा चिनियाँ पक्षबाट उठाइएको प्रसङ्ग अर्थपूर्ण मानिएको थियो।

भारत र चीनबीच जुन किसिमको भेटवार्ता र समझदारी बढ्दै गएको छ, त्यसको हामी स्वागत गर्छौँ
प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

यसपालि स्वयम् ओलीले नेपालसहित समग्र दक्षिण एशियाली क्षेत्रका लागि चीन र भारतको सहकार्य फलदायी हुने धारणा चिनियाँ पक्षसमक्ष राखेको बताइएको छ।

नेपाल-चीन
त्यसको पुष्टि गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङबाट बीबीसीसँग भने, “पछिल्लो समयमा भारत र चीनबीच जुन किसिमको भेटवार्ता र समझदारी बढ्दै गएको छ, त्यसको हामी स्वागत गर्छौँ। र, त्यस्तो खाले सहकार्यले समग्र दक्षिण एशियाली क्षेत्रमा सकारात्मक प्रभाव पर्छ।”

उनका अनुसार त्यसैले नेपाली पक्षले भारत र चीनबीच प्रतिस्पर्धा होइन, सहयोग रहेको हेर्न चाहेको चीनको नेतृत्वलाई बतायो।

चीनको प्रतिक्रिया
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दुवै जनासँगको भेटवार्ता उक्त प्रसङ्ग उठाइएको बताइएको छ।

यसमा चिनियाँ पक्षको प्रतिक्रिया कस्तो रह्यो त?

जवाफमा फेरि परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, “उहाँहरूले पनि समझदारी अन्य मुलुकका लागि पनि लाभकारी हुन्छ र हामीले सहकार्य अघि बढाउँदै जाँदा त्रिदेशीय साझेदारी र क्षेत्रीय साझेदारीमा त्यसले सहयोग पुर्‍याउँछ भन्ने धारणा राख्नुभयो।”

भारत ‘अनिच्छुक’

तर त्रिदेशीय साझेदारीमा भारतले रुचि देखाएको पाइँदैन।

ओली र मोदी

ओली र मोदी
ओलीले गत एप्रिलमा भारतको राजकीय भ्रमण गरेका थिए। त्यसको एक महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए।
चीनसँग नेपालको बढ्दो निकटता दिल्लीलाई बिझाउने गरेको जानकारहरूको धारणा पाइन्छ।

दुई विशाल छिमेकीबीच सन्तुलनको चर्चा गर्ने प्रधानमन्त्री ओलीले के भारत-चीन सहकार्यको कुरा गरेर दिल्ली र बेइजिङलाई आश्वस्त पार्न खोजेका हुन् त?

जवाफमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका जानकार डा. खड्ग केसी भन्छन्, “कूटनीतिक रूपमा त यो विषय ठिक देखिएला। तर एउटा सार्वभौम मुलुकको हैसियतमा भारतसँग पछिल्लोपटक विश्वासको सम्बन्ध देखिएका बेला अझै पनि भूराजनीतिक अप्ठ्याराहरू रहेको सङ्केत पछिल्लो आग्रह हो।”

ती अप्ठ्याराबारे डा. केसीले व्याख्या नगरेक पनि चीनसँगको सम्बन्धलाई लिएर नेपालले दिल्लीको प्रत्यक्ष वा परोक्ष दबाब झेलिरहेको भन्ने मान्यतालाई उनले सङ्केत गरेको प्रतीत हुन्छ।

Share Now

Leave a comment.