काठमाडौं, ७ मंसिर । प्रधानमन्त्रीको मित्र राष्ट्र चीन भ्रमणको संघारमा नेपाली कांग्रेसले बहुचर्चित बीआरआई बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आज पार्टीका अर्थ र परराष्ट्र मामिलाका जानकारहरुसंगको बैठकपछि नेपाली कांग्रेसको यो धारणा सार्वजनिक भएको हो ।
नेपाली कांग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले आज ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेको थियो ।
छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले भन्नुभयो, “यसअघिका चिनियाँ प्रतिवद्धता पूरा हुनुुपर्यो । बीआरआईका विषयमा कांग्रेस दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो ।अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्यो, अनुदानमै धेरै प्रतिबद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्यो ।”
डा. महतले अगाडि भन्नुभयो, ‘अनुदान नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ छ? अहिले फेरि ऋणको भार पनि बढिरहेको छ । त्यसकारण चिनियाँ सरकारसँग मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामी ऋण लिने कुरामा जानुहुन्न ।’
उहाँले चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर, तत्काल ऋण लिन नहुने बताउनुभयो ।
‘बीआरआई फ्रेमवर्कको जुन कुरा भइराखेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाका कोण, अरुखाले विषयवस्तुहरु एउटा प्लटमा जान खोजेको हो कि या के हो? भन्नेचाहिँ हिसाबको कुरा हुनुपर्छ भन्ने हाम्रो कुरा हो’, नेपाली कांग्रेसका प्रवक्ता डा. महतले भन्नुभयो, ‘खास गरेर अहिले अनुदान नै कार्यान्वयन गर्नुपर्छ, बीआरआई अन्तर्गतकै अनुदान कार्यान्वयन गर्नुपर्छ, ऋणचाहिँ लिन हुँदैन भन्ने हो ।’
सत्ता साझेदार दल नेकपा एमालेसँग बीआरआईको विषयलाई लिएर विमति सार्वजनिक भइरहेका बेला कांग्रेसले संसद भवनको ल्होत्से हलमा अर्थविद र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेको थियो ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेताहरु डा.प्रकाशशरण महत, पूर्वअर्थ राज्यमन्त्रीद्धयउदयशम्शेर राणा र चीनकाजी श्रेष्ठ लगायत सहभागी हुनुहुन्छ ।