Prakash Adhikari November 22, 2024
काठमाडौँ, ७ मङ्सिर । नेकपा एमालेले पार्टीविरुद्ध भएका भ्रमपूर्ण प्रचारबाजीलाई निस्तेज पार्न आज काठमाडौंको दरबारमार्गमा जागरण सभा सम्पन्न गरेको थियो ।
काठमाडौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाको आयोजनामा भएको सो सभालाई प्रधानमन्त्री एवं नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनु भयो ।
जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताउनुभयो ।
चीन भ्रमण सफल हुन्छ 
प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि नभइ देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने  बताउनुभयो ।
लगानी गर्न आग्रह
प्रधानमन्त्री ओलीले देशमा दुई ठूला दलको स्थीर सरकार बनेपछि लगानी मैत्री वातावरण निर्माण भइरहेकाले लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
“नेपालको आर्थिक अवस्था खराब अवस्थामा थियो । अहिलेको एमाले–कांग्रेसको सहकार्यमा बनेको सरकारले लिएको नीति र योजनाका कारण अर्थव्यवस्थामा सुधार भइरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
आर्थिक सुशासन र आर्थिक वृद्धि नभएसम्म देशमा विकासको गति बढ्न नसक्ने भएकाले नेपालका उद्योगी व्यवसायीसँगै बहुराष्ट्रिय कम्पनीहरुलाई समेत लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । “तपाईहरु लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ”, उहाँले भन्नुभयो ।
षडयन्त्रका विरुद्ध जागरणसभा 
जागरण सभालाई सम्बोधन गर्ने एमाले महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरणसभा आयोजना गरेको बताउनुभएको छ ।
नेकपा एमाले काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटा जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अनावश्यक षडयन्त्रलाई चिर्न जागरणसभा आयोजना गरेको स्पष्ट पार्नुभयो ।
उहाँले देशका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेका बेला विभिन्न षडयन्त्र भइरहेकोतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
राष्ट्र र राष्ट्रियताका पक्षमा उभिएकै कारण एमाले माथि आक्रमण भएको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण हुँदै आएको छ, अहिले एमालेलाई समाप्त पार्न अनेक षडयन्त्र भइरहेका छन् । एमालेविरुद्ध फैलाइएका सबैखाले भ्रम चिर्न पार्टी पंक्ति एक हुनुपर्ने समय आएको छ ।”
महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आर्थिक प्रगति गर्ने मुलुकहरुको सूचीमा नेपाल परेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नुपर्दछ, तब मात्र देश बन्दछ ।”
महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण देशको विकास हुन नसकेको महसुस गरी ठूला राजनीतिक दल एक भइ सरकारमा गएको बताउनुभयो । पछिल्ला दिनमा एमालेसँग जोडेर गलत प्रचार हुन थालेको उल्लेख गर्दै आफ्नो पार्टीमाथी जोडिएका सबै विषयमा छानबिन गर्न चुनौती दिनुभयो ।
महासचिव पोखरेलले अराजकताका विरुद्ध केपी ओली दह्रोसँग उभिएका कारण उहाँलाई बदनाम गराउने प्रयास भइरहेको बताउँदै भन्नुभयो, “नेकपा एमाले जनताको हृदयमा छ, राष्ट्रको हृदयमा छ, नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षडयन्त्रको जालो रच्ने खेलमा लागेका छन्, त्यसतर्फ हामी सबै सचेत रहनुपर्छ ।”
उहाँले कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदासमेत कुप्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो । नेकपा एमाले सहकारी छानबिनमा व्यक्ति नभई घटना केन्द्रित छानबिन गरौँ भन्ने पक्षमा रहेको स्मरण गराउँदै महासचिव पोखरेलले व्यक्ति केन्द्रित भइ अनुसन्धान गरौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सभापति अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताउनुभयो । त्यसको दोष अहिले एमालेमाथि लगाउने काम भइरहेकाले उहाँले आपत्ति प्रकट गर्नुभयो ।
एमाले देश बनाउने यात्रामा रहेको बताउँदै महासचिव पोखरेलले  देश बनाउने सन्दर्भमा प्राप्त सबै सुझाव एमालेले ग्रहण गर्ने बताउनुभयो ।
–––
Share Now