Prakash Adhikari November 23, 2024

काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रोटोकल मिचेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली सिक्का उपहार पठाएको र त्यसरी पठाउदा प्याकेजिड.मा ध्यान नदिंदा कुच्चिएर उपहार साट्नुपर्ने स्थिति आएको भन्दै आवश्यक कारबाहीको लागि प्रधानमन्त्री केपी शर्मा ओली देखि राष्ट्रपति रामचन्द्र पौडेल र संसदमा प्रतिनिधित्व गर्ने दलहरुसामु उजुरी परेको छ ।

नेपाल राष्ट्र बैंकका बहालवाला कार्यकारी निर्देशक विनोदराज आचार्य(बी ५२९) ले यो उजुरी गर्नुभएको हो ।उजुरीको ब्यहोरामा उल्लेख भए अनुसार प्रोटोकल मिचेर भारतीय प्रधानमन्त्रीलाई नेपालका चाँदीका टकमरी पठाउदा गभर्नर र उहाँको कार्यालयबाट नेपाल सरकारद्धारा निर्धारित नियमको पालना भएको छैन । निवेदक आचार्यका अनुसार घट्नाक्रम यस्तो छ ।

यही बर्ष असोज ८ गते नेपालका पहिलो गभर्नर स्व. हिमालय शमशेर ज.ब.रा.को सम्मानमा होटेल ह्यात रिजेन्सीको सभाहलमा एक गोष्ठी गरिएको थियो । गोष्ठीमा मित्रराष्ट्र भारतका रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासबाट “First Himalaya Shamsher Memorial Lecture on Central Banking in the 21st Century: Changing Paradigm” विषयमा प्रवचन दिइएको थियो ।  छिमेकी मुलुकको केन्द्रीय बैंकको गभर्नरबाट गरिएको उक्तप्रवचन निक्कै नै गहकिलो रहेको थियो ।

प्रवचन पछि होटलको दिवा खाना सकेर करिव २ः०० बजेको समयमा नेपाल राष्ट्र बैंक, वालुवाटार स्थित गभर्नरको कार्यालयको बैठक कक्षमा दुवै देशका गभर्नरहरुबीच नेपाल–भारत सीमा वारपार हुने भुक्तानी पद्दतिलाई आगामी दिनमा अझ सहज र सरल बनाउन दुवैतर्फबाट उपयुक्त डिजिटल उपकरण सञ्चालन गर्ने सम्बन्धमा छलफल भयो । सो छलफलमा भारतीय रिजर्भ बैंकका तर्फबाट गभर्नर दासका अतिरिक्त गुनवीर सिंह, सत्यशिव पाणिग्रही र मेजर यशपाल सिंह चरण तथा नेपाल राष्ट्र बैंकका तर्फबाट निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र, नेफिल माताङ्गि मास्के, स्वयं म विनोद राज आचार्य, निश्चल अधिकारी, डिल्लिराम पोखरेल र स्वेच्छा शाक्यको उपस्थिति रहेको थियो ।

उक्त छलफल लगत्तै गभर्नर दासले गभर्नर महाप्रसाद अधिकारीलाई महात्मा गान्धी अंकित सिक्का प्रदान गर्नुभयो भने गभर्नर अधिकारीले पनि गभर्नर दासलाई नेपालको टक्सारबाट टङ्कण गरिएका गाई अंकित २ थान चाँदीका सिक्का सहितको सानो निलो सन्दुक सहित उपहार दिनुभयो,जुन स्वभाविक नै थियो ।

तर, तत्पश्चात गभर्नर अधिकारी र उहाँको सचिवालयले अलिक अपरिपक्क कार्य गर्यो । केही महिनाभित्र अवकाशमा जान लाग्नुभएका गभर्नर अधिकारीले गभर्नर दासलाई दिएकै स्वरुपको निलो रंगको सानो सन्दुक खोली त्यसमा आफ्नो भिजिटिङ्ग कार्ड समेत राखी भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीसमक्ष पुर्याई दिन भनेर गाई अंकित सिक्काहरु अर्पण गर्नुभयो ।

अझ सुन्दा त्यो भन्दा पनि विरक्त लाग्ने के भएछ भने त्यसरी सन्दुकमा राखी उपहार स्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप विगे्रका भन्ने जानकारी उतैबाट आएपछि तत्काल गभर्नर कार्यालयका उपनिर्देशक स्वेच्छा शाक्यलाई मुम्बई भ्रमण काजमा खटाई निजमार्फत उक्त खोटा र स्वरुप विगे्रका सिक्काको बदलामा नयाँ सिक्काहरु दिई पठाइयो । पछि बुझ्दै जाँदा के भएको रहेछ भने सुरुमा गभर्नर कार्यालयले टक्सारबाट उपहार शीर्षक अन्तर्गत खरिद गरेको उक्त सिक्काहरु सङ्लो नै रहेपनि डल्लुस्थित विष्णुमतिको पुरानो पुल हुँदैस्वयम्भू निस्कने ठाउँमा रहेको शाक्य अर्नामेण्टस्(प्रो. अनिल शाक्य, मो.नं. ९८५१०५५२६६) ले बनाएको सन्दुकको साइज सानो भएको कारण सो सन्दुकमा जबरजस्ती सिक्का राख्दा उक्त सिक्का कुच्चिएका रहेछन्। जसको कारण अन्तराष्ट्रिय सीमा बाहिर नेपाल र नेपालीको वेइज्जत हुन पुग्यो ।

निवेदक आचार्यले प्रधानमन्त्रीसमक्ष (१) उक्त कार्यक्रम कुटनीतिक आचार संहिता, २०७७ को दफा ७ को उपदफा (१) बमोजिम भएकोहो, होइन ?(२) उपहार आदान प्रदानका सम्बन्धमा कुटनीतिक आचार संहिता, २०७७ को दफा ११ कोपालना भएको छ, छैन ?(३) उक्त कार्यक्रमका विषयमा कुटनीतिक आचार संहिता, २०७७ को दफा १४ बमोजिम परराष्ट्र मन्त्री संयोजक रहने आचार संहिता पालना अनुगमन समितिले छानविन तथा अनुगमन गर्नुपनेहो, होइन ? भनेर जिज्ञासा समेत राख्नुभएको छ ।

निवेदक आचार्यले यी क्रियाकलाप आफ्नै सामुन्ने भएको पनि दावी गर्नुभएको छ । उहाँले गभर्नर अधिकारीलाई अब आइन्दा यस्तो कार्य नगर्न आवश्यक निर्देशन दिनुहुन विनम्र अनुरोध गर्नुभएको छ ।

निवेदक आचार्यले यो निवेदनको बोधार्थ राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड , परराष्ट्र मन्त्री डा. आरजु राणा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सि. के. राउत, राष्ट्रिय जनमोर्चा नेपालका नेता चित्रबहादुर के.सी. र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललाई दिनुभएको छ ।

Share Now