Prakash Adhikari November 25, 2024

 

काठमाडौं, १० मंसिर । नेपालको शेयर बजार आज सुस्त गतिमा उकालो लागेको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

सोमबार धितोपत्र बजार परिसूचक १५.८३ अंक बढेर २६८३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।

 

सोमबार अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। आइतबार ७ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ९ स्टकको १ करोड २२ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ

यस दिन बेस्ट फाइनान्स र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८५ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.७८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.६९ प्रतिशत बढेको छ। यस दिन मूल्य बढ्ने शीर्षका अन्य कम्पनीमा बुद्धभूमि हाइड्रो, एनएलजी, त्रिशक्ति हाइड्रो र कर्णाली विकास बैंक छन् ।

सोमबार ङादी ग्रुप पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५४ रुपैयाँ ९० पैसा घटेर ४९४ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै यस दिन एसबीआई डिबेञ्चर ८३, सिटिजन्स् सुपर ३० म्युचुअल फण्ड, जानकी फाइनान्स, मध्यभोटेकोशी जलविद्युत, तमोर हाइड्रो, जनउत्थान सामुदायिक लघुवित्त,आरबीबी म्युचुअल फण्ड,सिर्जनशील लघुवित्त र सीवाईसी लघुवित्तको शेयर मूल्य अधिक घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५४ करोड रुपैयाँ बराबर को शेयर खरिदबिक्री भएको छ। कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती भएसँगै कम्पनीको कारोबार बढेको हो। त्यस्तै, यस दिन बेस्ट फाइनान्सको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ।

Share Now