Prakash Adhikari December 1, 2024

 

काठमाडौँ, १६ मङ्सिरः स्थानीय तहका रिक्त रहेका विभिन्न ४१ पदमा आज बिहानदेखि सुरु भएको मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भईसकेको छ।

कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

काठमाडौं महानगरपालिकाको वडा नं २६ मा पनि शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको बताइएको छ। वडाका ११ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

त्यस्तै नुवाकोटको ककनी गाउँपालिकाको वडा नं २ मा पनि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको खबर छ ।

हेटौँडाबाट राससका स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् ।

यसैगरी, रासस प्रतिनिधिले सप्तरीको राजविराजबाट सम्प्रेषण गरेको समाचारमा डाक्नेश्वरी नगरपालिका वडा नं। १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ । दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं। १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नं। ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी नगरपालिका– १ मा दुई हजार ६३५ र वडा – ४ मा एक हजार २८१ मतदाता छन् ।

दैलेखस्थित रासस समाचादाताका अनुसार महावु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गर्नुभएको छ । उक्त निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको सिमकोटस्थित हाम्रा समाचारदाताले जनाएका छन् । सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् ।

दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।

त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा चार हजार ९१ मतदाता छन् । उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो ।

निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन भईरहेको छ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि आजै मतदान भईरहेको छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन भईरहेको आयोगका सूचना अधिकृत सुमन घिमिरेले राससलाई जानकारी दिनुभएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन भइरहेको छ ।

मतदान सकिनासाथ मुचुल्का गरेर मतपेटिकाहरु संकलन गरिसकेपछि मतगणना गर्ने तयारी रहेको संबन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

 

–––

Share Now