कीर्तिपुर(काठमाडौं), २० मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजमाथि शानदार विजय हासिल गरेको छ ।
सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा ९४ रन जोडेको अवस्थामा अल आउट हुँदै नतिजा सुदूरपश्चिमलाई सुम्पिएको हो ।
काठमाडौंका लागि स्टेफन स्किनाजीले ३७ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । सुमित महर्जनले १० बलमा १४ रन जोडे । भीम सार्की ८ बलमा १० रन बनाउँदै रन आउट भए । जेहार्ड एरास्मसले ५ बलमा १० रन जोडे । एरास्मसलाई नरेन साउदले एलबिडब्लु धरापमा पारे ।
नरेन साउदले १४औं ओभरमा स्किनाजी र राशीद खानलाई आउट गराएसँगै सुदूरपश्चिम खेलमा पूर्णरुपले हाबी भएको थियो । कप्तान करण केसी ठूलो सट खेल्ने चक्करमा नरेन साउदको बलमा आउट भए ।
सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ । १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपीएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए । जेहार्डको बलमा मक्मलेन आउट भए । मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।
मक्मेलन आउट भए लगत्तैको बलमा भन्डारी पनि २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रनाउँदै आउट भए । विनोद साहब आलमको बलमा एलबिडब्लु आउट भए । दिपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । दिपेन्द्र लामो सट प्रहारको चक्करमा करण केसीको बलमा बाउन्ड्रिमा माइकल लेभिटबाट क्याच आउट भए ।
ओपनरको भुमीकामा आएका सेफ जैबले ९ बलमा ११ रन जोडे । ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए । रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।
सुदूरपश्चिमलाई रोक्ने क्रममा काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए ।
सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित काठमाडौंको ३ खेलबाट २ अंक पाएको छ ।
आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको थियो ।
शुक्रवारको पहिलो खेल कर्णाली याक्स र चितवन राइनोज तथा दोस्रो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुनेछ ।