बीरेन्द्रनगर(सुर्खेत), २० मंसिर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दाबढि अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
नेशनल लाईफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान दिनुका साथै पुरस्कृत पनि गरिएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्नुभएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले अन्य प्रदेशको तूलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडि रहेपनि संभावना भने निक्कै नै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरुले व्यवसायिक रणनीति बनाई अघि बढ्नुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा काम सम्पन्न गरिसकेको बताउनुभयो । उहाँले सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु हुँदै अव सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने योजना रहेको जानकारी गराउनु भयो ।
उहाँले, अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटेर आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्दश्य रहेको बताउनु भयो । यस कार्यक्रममा नेपालभरबाट २ हजार जना भन्दाबढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको उहाँले बताउनु भयो ।
समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।