Prakash Adhikari December 15, 2024

 

काठमाडौं, २९ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा शनिवार भएको खेलमा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिन पुगेका छन् ।

शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।

चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको कर्णालीको ८ अंक रहेको छ ।

एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको १ खेल जितेपनि ६ अंक मात्र हुनेछ । उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन् ।

शनिवारको दोस्रो खेलमा १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुर १८औं ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

जनकपुका जिमी निशमले सर्वाधिक ६५ रन बनाए । आसिफ शेख २३ रन बनाउँदै आउट भए । शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए ।
चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ । २ तथा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ । १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो ।

चितवनका कप्तान कुशलले ७२ रन जोडेका थिए ।

रवि बोपाराले ४४ रन जोडे ।ओपनर हसन इसाखिल २८ रन बनाउँदै आउट भए । सन्तोष कार्कीले १४ तथा ओपनर विपिन रावलले ३ रन जोडे ।

चितवनलाई रोक्ने क्रममा जनकपुर ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ । १ विकेट लिए । लिग चरणको अन्तिम खेलमा जित सहित चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ । पराजित जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको थियो ।

शनिवार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ ।

प्लेअफमा प्रवेशका लागि कर्णाली याक्स, काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच ३ स्थानको लागि प्रतिस्पर्धा रहेको छ ।

Share Now