
नयाँदिल्ली(भारत),१५ असार (बीबीसी) । यो मुद्रासँग देशको प्रतिष्ठा जोडिएको हुन्छ। जहिले जहिले यो मुद्राको अवमूल्यन हुन्छ तहिले तहिले देशको प्रतिष्ठा पनि खस्कन्छ।
भाषण गर्दै भारतीय जनता पार्टीकी नेता सुषमा स्वराजले सन् २०१३ मा यसो भनेकी थिइन्। हाल स्वराज भारतकी विदेश मन्त्री छिन्।
त्यसबेला भारतीय रुपैयाँको मूल्य डलरको तुलनामा निरन्तर घट्दै गएर एक डलर बराबर भारु ६८ पुगेको थियो। तत्कालीन वित्तमन्त्री पी चिदम्बरमको स्पष्टीकरणबाट सन्तुष्ट नभएकी स्वराजले प्रधानमन्त्री मनमोहन सिंहसँग भारतीय मुद्राको अवमूल्यनबारे उत्तर मागेकी थिइन्।
ूआज हेर्नोस्, रुपैयाँको मूल्य जुन गतिमा घटिरहेको छ, कहिलेकाहीँ त दिल्ली सरकार र रुपैयाँबीच कसको इज्जत छिटो घट्छ भनी प्रतिस्पर्धा भइरहेको छ कि जस्तो लाग्छ।
भारत स्वतन्त्र हुँदा एक रुपैयाँको मूल्य एक डलर बराबर थियो। अटलजी ९अटल बिहारी वाजपेयी० ले पहिलो पटक सरकार बनाउँदासम्म एक डलरको मूल्य ४२ रुपैयाँ थियो। अटलजीले सरकार छोड्दा त्यो ४४ रुपैयाँ पुगेको थियो। तर यो सरकार र अर्थशास्त्री प्रधानमन्त्री भएको समयमा एक डलर बराबर ६० रुपैयाँ पुगेको छ।ू
नरेन्द्र मोदीको यो भाषण पाँच वर्ष पुरानो हो जुन बेला उनी गुजरात राज्यका मुख्यमन्त्री थिए।
उथलपुथल
तर त्यसयता भारतको सत्तामा धेरै परिवर्तन आएको छ, आर्थिक अवस्थामा पनि धेरै उथलपुथल भएको छ।
कुनै बेला ओरालो लागेको रुपैयाँबारे मनमोहन सरकारलाई घेर्ने यी नेता अहिले रुपैयाँको अवमूल्यनबारे मुख बन्द गरेर बसेका छन्।
मोदी सरकार सन् २०१४ को मे महिनामा सत्तामा आउँदा एक डलरको मूल्य करिब ६० रुपैयाँको थियो। तर त्यसयता रुपैयाँ कुनै न कुनै रूपमा दबाबमै छ।
केही महिनादेखि यो दबाब झन् बढेको छ। अहिले रुपैयाँ गत १५ महिनाको सबैभन्दा कम मूल्यमा झरेको छ। पछिल्लो एक महिनामा डलरको तुलनामा भारु दुई रुपैयाँ २९ पैसाले सस्तिएको छ।
बिहीवार रुपैयाँको विनिमय दर हालसम्मकै सबैभन्दा कम अर्थात् एक डलरको भारु ६९।०९ भयो। पहिलो पटक डलरको भाउ रु ६९ भन्दा बढी भएको हो।
योभन्दा अघि रुपैयाँको सबैभन्दा धेरै अवमूल्यन मोदी सरकारकै समयमा भएको थियो। नोभेम्बर २०१६ मा एक डलर बराबर ६८।८० रुपैयाँ पुगेको थियो।
तर डलर रुपैयाँमाथि मात्र हावी भएको भने होइन। यो वर्ष मलेशियाको रिङ्गेट, थाई भाट लगायत एशियाका थुप्रै देशको मुद्रा डलरको तुलनामा कमजोर भएका छन्।
टक्कर
कुनै बेलामा भारतीय रुपैयाँले डलरलाई गतिलो चुनौती दिने गर्थ्यो।
सन् १९४७ मा भारत स्वतन्त्र हुँदा डलर र रुपैयाँको शक्ति बराबर थियो। अर्थात् त्यस बेलाको विनिमय दर एक डलर बराबर एक रुपैयाँ थियो।
त्यति बेला देशको नाममा कुनै ऋण थिएन। तर सन् १९५१ मा पहिलो पञ्चवर्षीय योजना लागु भएपछि सरकारले विदेशी मुलुकसँग ऋण थाल्यो। त्यससँगै रुपैयाँको शक्ति पनि क्षीण हुन थाल्यो।
सन् १९७५ सम्म आइपुग्दा एक डलरको भाउ भारु आठ भयो र १९८५ मा भारु १२ भयो। सन् १९९१ मा पीभी नरसिंह रावको शासनकालमा भारतले उदारीकरणको नीति लियो र उक्त नीतिसँगै रुपैयाँ पनि ओरालो लाग्न थाल्यो।
कारण
यस विषयका जानकार एस सुब्रमण्यमका अनुसार रुपैयाँको मूल्य माग र वितरणमा निर्भर गर्दछ।
आयात र निर्यातले पनि यसलाई असर पार्दछन्। हरेक देशसँग विदेशी मुद्राको भण्डार हुन्छ जसबाट उसको लेनदेन चल्छ।
विदेशी मुद्राको सञ्चितिमा हुने घटबढले उक्त देशको मुद्राको मूल्यमा असर पार्छ। अमेरिकी डलरलाई विश्वभरि विश्वसनीय मुद्राको रूपमा मानिन्छ। मुलुकभित्र गरिने धेरैजसो आयातको भुक्तानी डलरमै गरिन्छ।
डलरको तुलनामा भारु अवमूल्यन हुनुका कारण समयसँगै परिवर्तन भइराख्छन् । कहिले यो देशको आर्थिक स्थितिका कारण हुन्छ भने कहिले सत्ताको अवस्था र कहिले यी दुवै कारणले गर्दा पनि हुने गर्छ।
दिल्लीस्थित एक ब्रोकरेज फर्मका अनुसन्धान प्रमुख आसिफ इकबालका अनुसार अहिले रुपैयाँ कमजोर हुनको प्रमुख कारण तेलको बढ्दो मूल्य हो।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य साढे तीन वर्षयताकै उच्चतम विन्दुमा अर्थात् प्रतिब्यारल ७५ डलर पुगेको छ।