
बनारस,(उत्तरप्रदेश,भारत), १६ असार । बुद्ध एयरको काठमाडौँ–वाराणसी विमान सेवाको शुभारम्भ अवतरणलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।
काठमाडौँबाट उडेको विमानलाई हरियो झण्डा देखाउँदै आदित्यनाथले बाबतपुर विमानस्थलमा स्वागत गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र प्रबन्ध निर्देशक बस्नेतले काठमाडौँबाट वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए ।
उडानसँगै बुद्ध एयरले दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय विधामा विभिन्न प्याकेज कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।
उडानबाट भारतीय तीर्थालु र पर्यटकहरु नेपालका धार्मिक स्थल र पर्यटकीय क्षेत्रको भ्रमणका लागि नेपाल आउने विश्वास व्यक्त गरिएको छ । वाराणसीबाट भारतीय पर्यटक मुख्यगरी पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर आउने विश्वास गरिएको छ ।
युवावर्गलाई लक्ष्य गरी हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारीजस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक बस्नेतले बताए ।
काठमाडौँ– वाराणसी– काठमाडौँको उडान अवधि ५० मिनेटको हुने छ । बुद्ध एयरले अहिले दोहोरो भाडा दर काठमाडौँ–वाराणसी टिकट रु १४ हजार तोकेको छ ।
बुद्धको बाराणसी उडान सोमबार र शुक्रबार सञ्चालन हुनेछ ।
बुद्धको पहिलो शुभारम्भ उडानमा ४५ सिटे जहाजमा आज ४० जना आज भारत गएका छन् । उडान स्थापित भएको खण्डमा ७० सिटे एटीआर जहाज संचालन गरिने छ ।