
-आना फागे /बीबीसी न्यूज
वाशिङ्टन(संयुक्त राज्य अमेरिका),२२ पौष । संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ। एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाडो हुन सक्ने ठानिएको छ।
क्यानडाको अधिकांश क्षेत्र र अमेरिकाको क्यान्ससदेखि ईस्ट कोस्टसम्मका ३० राज्यमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको न्याश्नल वेदर सर्भिस (एनडब्ल्यूएस)ले जनाएको छ।
ओहायोदेखि वाशिङ्टन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने अपेक्षा गरिएको छ।
केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, क्यान्सस, आर्कन्सा, मिजोरी राज्यहरू अनि न्यूजर्सीका कतिपय ठाउँमा सङ्कटकाल घोषणा गरिएको छ।
साधरणतया मौसम राम्रो हुने फ्लोरिडामा पनि अत्यधिक चिसो महसुस हुने आकलन गरिएको छ।
विभिन्न राज्यमा सङ्कटकाल
मौसमविद्हरूले उक्त चरम मौसमी अवस्था ुपोलर भोर्टेक्सुका कारण उत्पन्न भएको बताएका छन्। आर्क्टिकमा फैलिने चिसो हावा भएको एउटा क्षेत्रलाई ‘पोलर भोर्टेक्स’ भनिन्छ।
यसपालिको हिउँदे आँधीले ईस्ट कोस्टलाई स्थानीय समयानुसार आइतवार साँझदेखि प्रभावित गर्ने ठानिएको छ। न्यूयोर्क राज्यका कतिपय उत्तरी भागहरूमा अहिलेसम्म कम्तीमा तीन फिट हिउँ परिसकेको छ।
वाशिङ्टन डीसीमा पाँचदेखि नौ इन्च हिमपात हुने भनिएको छ। त्यहाँका नगरप्रमुखले हिमपातका कारण कम्तीमा आइतवार साँझसम्म लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन्।
तीन महिनाअघि भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्पको विजय प्रमाणित गर्नका लागि सोमवार अपराह्ण कङ्ग्रेसको बैठक बस्न लागेको छ। खराब मौसमका कारण कतिपय संसद सदस्यहरू आआफ्ना क्षेत्रबाट समयमा राजधानी पुग्न सक्छन् कि सक्दैनन् भन्ने स्पष्ट छैन।
मेरिल्यान्ड राज्यको बाल्टिमोरनजिकै रहेको एनपोलिस क्षेत्रमा आठदेखि १२ इन्चसम्म हिमपात हुने भविष्यवाणी एनडब्ल्यूएसले गरेको छ।
त्यसबाहेक क्यान्सस, मिजोरी र नेब्रास्कामा पनि हिमपात हुने चेतावनी जारी भएको छ। उत्तरी मिजोरीमा झन्डै १४ इन्च असिना र हिउँ परेको छ भने क्यान्ससमा १० इन्च हिउँ जमिसकेको जनाइएको छ।
“यो क्षेत्रमा धेरै हिउँ परेका स्थानहरूमा कम्तीमा एक दशकयता भीषण हिमपात भएको हुन सक्छ”, एनडब्ल्यूएसले आइतवार भनेको छ।
दशकयताकै सर्वाधिक चिसो मौसम
एक्यूवेदरका मौसमविद् डान डिपोड्विनले भन्नुभयो, ूयसबाट सन् २०११ यता यसपालि ज्यानुअरी महिना सर्वाधिक चिसो हुन सक्छ।ू
उहाँले ‘तापक्रम ऐतिहासिक औसतभन्दा न्यून’ रहेको जनाउँदै गर्दै यस्तो अवस्था एक सातासम्म लम्बिन सक्ने बताउनुभयो। साधारणभन्दा १२ देखि २५ फरेनहाइटभन्दा कम तापक्रम हुने भविष्यवाणी गरिएको छ।
यसले यात्रामा विलम्ब हुन सक्ने ठानिएको छ। अमेरिका भित्रिने र बाहिरिने १,५०० वाट उडान रद्द गरिएका छन् भने झन्डै ५,००० वटा उडानमा विलम्ब हुने फ्लाइटअवेअर डट कमले जनाएको छ।
एम्ट्र्याकले पनि कैयौँ रेलसेवा स्थगित गरेको छ। सम्भावित अवरोधका कारण अमेरिकन, डेल्टा, साउथवेस्ट र यूनाइटेड एअरलाइन्सले उडान परिवर्तन गर्दा लाग्ने शुल्क हटाएका छन्।
संयुक्त राज्य अमेरिकाबाट उत्तरमा पर्ने क्यानडामा पनि पोलर भर्टेक्सको प्रभाव परेको देखिएको छ।
अत्यन्त चिसो मौसमका कारण क्यानडाको अधिकांश क्षेत्रमा सप्ताहान्तबाटै चरम मौसमसम्बन्धी चेतावनी जारी गरिएको थियो। त्यहाँका कतिपय क्षेत्रमा अकस्मात् भीषण हिमपात भएको र हावाहुरी चलेको छ।
मध्यक्यानडामा अवस्थित म्यानिटोबा राज्यमा हिउँदे आँधीका कारण तापक्रम घटेर माइनस ४० डिग्री सेल्सिअससम्म पुग्न सक्ने ठानिएको छ।
आइतवार ओन्टारिओका कतिपय भागमा १५ इन्चसम्म हिमपात भएको थियो। ।
खराब मौसमका कारण सडकमा जोखिम बढेको छ। लरी र कारहरू ठोक्किएका र क्यान्ससमा एउटा दमकल दुर्घटनामा परेको विवरण प्राप्त भएको छ।
‘सेताम्मे अवस्थाले यात्रालाई ज्यादै खतरनाक बनाउँछ, सडक पार गर्न असम्भव बन्न सक्छ र चालकहरू अलपत्र हुने उच्च जोखिम रहन्छ’, एनडब्ल्यूएसले चेतावनी दिँदै भनेको छ।
यसैबीच ‘टोर्नडो’ उत्पन्न गराउन सक्ने सामर्थ्य भएको आँधी आर्कान्सा र लुइजियानाबाट पूर्वतर्फ मिसिसिपी र अलाबामातर्फ आइतवार साँझ अघि बढ्ने उक्त विभागले बताएको छ।
मौसमविद् रायन मुए भन्नुहून्छ, ‘अवस्था ज्यादै बिग्रन सक्छ, विपद् निम्तन सक्छ। केही समययता हामीले यस्तो परिस्थिति देखेका थिएनौँ।”