
काठमाडौं, १८ असार । नेपाली कांग्रेसका संस्थापक, पार्टीका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री लोकनायक
स्व. गिरिजाप्रसाद कोइरालाको ९४ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस कामनपा वडा नं २६ इकाईले सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं २६ सामाखुसीस्थित चिल्ड्ेन पार्कमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रमको प्रमुख अतिथि पूर्व रक्षामन्त्री तथा प्रतिनिधिसभामा सोही क्षेत्रबाट विजयी बन्नुभएका सांसद भिमसेनदास प्रधान रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानले नेपाली कांग्रेसका तात्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सुझबुझपूर्ण विचार, व्यवहार र सबल नेतृत्वको कारण नेपालमा शान्ति पुनर्बहाली भै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना संभव भएको बताउनुभयो ।
उहाँले देशमा संघीयता सहितको समावेशी लोकतन्त्रात्मक गणतन्त्रको स्थापनाको नेतृत्व लिनुभएका कोइरालाको योगदान चीरस्मरणीय रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस कामनपा वडा नं २६ का कार्यबाहक सभापति गणेश सिंखडाको अध्यक्षतामा भएको सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष खेम तिवारीले स्वागत भाषण गर्नुभएको थियो ।