Prakash Adhikari July 2, 2018

काठमाडौं, १८ असार । आइतबार साँझदेखि परेको बर्षाको कारण देशका मुख्य राजमार्ग मानिएका पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र कर्णाली राजमार्गमा पहिरो खसेर यातायात आवागमन बन्द भएको छ ।

भरतपुरबाट प्राप्त समाचार अनुसार नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।
सिद्धार्थ पनि अबरुद्ध

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाँउपालिका ३ हेडबक्समा पनि गएराती सवा ११ बजे खसेको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ ।


पहिरोका कारण पाल्पा,गुल्मी, स्याङजा,कास्की संचालन हुने सवारी साधनको आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पानी परिरहेका कारण अवरुद्ध सडक खुलाउने समय लाग्ने भएको छ ।

कर्णालीको गगनेखोलामा पहिरो
आइतबारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध राजमार्ग खुलाउन पहिरो गएको ठाउँमा डोजर पुगे पनि वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख नन्दराम जैशीले बताए। ‘पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको छ,’ उनले भने, ‘वर्षाका कारण पहिरो पन्छाउन केही समय लाग्ने भएको छ।’

कर्णाली राजमार्गअन्र्तगतको गगनेखोलामा असारको १८ दिनमध्ये १२ पटक पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ। पानी पर्ना साथ गगनेखोलामा पहिरो जाने भएकाले १८ दिनमध्ये १२ दिन राजमार्ग अवरुद्ध भएको ट्राफिक प्रमुख जैशीले बताए। राजमार्ग अवरुद्ध हुँदा सुर्खेत, नेपालगंजबाट कालिकोट जुम्ला र मुगुका लागि आएका यात्रु अलपत्र परेका छन्।

यस्तै, कालिकोटबाट मुगु र जुम्लाबाट सुर्खेत नेपालगंजका लागि हिँडेका यात्रु पनि बीच बाटोमै अलपत्र परेका छन ।

Share Now

Leave a comment.