
मस्को(रुस),१९ असार । बेल्जियमले जापानमाथि ३-२ को विजय हासिल गरेको छ। खेलको इन्जुरी समयमा बेल्जियमले खुकुलो जापानी डिफेन्सको फाइदा उठाउँदै जित हात पारेको हो।
काउन्टर एट्याकमा गोल खानुअघि जापानले बेल्जियमविरूद्ध कर्नर पाएको थियो र उसका प्राय: सबै खेलाडी बेल्जियमको पोस्टमा थिए। बेल्जियमले त्यसैको फाइदा उठाउँदै जापान विरूद्ध विजयी गोल गर्यो।
सो गोल नासेर चडालीले ९४ औं मिनेटमा गरेका हुन्। अन्तिम समयमा नतिजा बेल्जियमको पक्षमा भएपनि जापानले सोमबार राती सम्पन्न खेलमा गतिलो टक्कर दिएको थियो।
पहिलो हाफ गोलरहित बराबरी खेलेका जापान र बेल्जियमबीचको खेलमा जापानले तीन मिनेटभित्र दुई गोलको झट्का दियो। बेल्जियमलाई झट्का दिने क्रममा जापानले दोश्रो हाफको तीन मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो।
नकआउट प्रवेश गरेको एक मात्र एसियाली राष्ट्र जापानका लागि हारागुचीले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए। जापानको सो गोलबाट उम्कन नपाउँदै जापानले फेरि बेल्जियमलाई ३ मिनेटमा नै अर्को झट्का दिएको थियो। जापानका लागि ५१ औं मिनेटमा जापानका इनुले दोश्रो गोल गरेका थिए।
खेलमा जापानले यसरी लगातार दुई गोल गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावनालाई बढाएको थियो तर २ गोलको अग्रताले हौसिएको जापान आक्रमण छोडेर रक्षात्मक हुँदा उसले सो सम्भावना र अग्रतालाई धेरै बेर जोगाउन सकेन।
३ मिनेटभित्र २ गोलको झट्का बेहोरेको बेल्जियमले जापानलाई ५ मिनेट भित्र लगातार २ गोल गर्दै बराबरी गर्यो र ब्राजिलसँग हुने भिडन्तको दौडमा आफूलाई कायम राख्यो।
बेल्जियमका लागि पहिलो गोल खेलको भेर्टङ्गनले खेलको ६९ औं मिनेटमा गर्दा दोश्रो गोल फेलानीले ७४ औं मिनेटमा हेडमार्फत गरे।
सेमिफाइनल फ्रवेशका लागि बेल्जियमले ब्राजिलसँग शुक्रबार कजान रंगशालामा भिडन्त गर्नेछ।