
सिन्धुपाल्चोक, १ माघः आजदेखि यहाँस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ ।
एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस खेलले सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँ हुने यस्ता खेलले सुकुटेसँगै, जुगल हिमाललगायत क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।
अध्यक्ष दाहालले भलिबल, क्रिकेट, फुटबललगायत खेल नेपालमा लोकप्रिय रहेको बताउँदै आफ्नो तर्फबाट खेल क्षेत्रको विकासमा सहयोग रहने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले आफूहरू सरकार ढाल्ने खेलमा नलागेको र संविधानअनुसार सरकार चल्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपीन्द्रप्रसाद तिमल्सिना, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापालगायतले प्रतियोगिताले सुकुटेलगायत सिन्धुपाल्चोक क्षेत्रको पर्यटन विकासमा खेल्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
प्रतियोगितामा छ प्रदेश, तीन विभागीयसहित ३६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यही माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
कमला र मनिषाको जोडीको विजयी सुरुवात
काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबकी कमला पुन र मनिषा चौधरीको जोडीले राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।
चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा मंगलवार सुरु भएको प्रतियोगितामा समूह ‘ग’ मा कमला र मनिषाको जोडीले कर्णाली प्रदेशकी सिता सिंह र पूर्णकला खत्रीको जोडीलाई २१-४ र २१-२ को सोझो सेटमा हरायो ।
सातौं महिला राष्ट्रिय बिच भलिबलको पहिलो दिनका अन्य खेलमा समूह ‘क’ मा एपिएफको रस्मिता दुरा र जस्ना महतोको जोडीले सुदूरपश्चिम प्रदेशलाई, समूह ‘ख’ मा कोशी प्रदेशकी अन्जना लिम्बु र सुस्मिता लावती जोडीले बागमती प्रदेशकी अन्जना क्षेत्री र अनु तामाङको जोडीले त्रिभुवन आर्मी क्लबकी सुनिता राई र भावना डाँगीको जोडीलाई समान २-० ले हरायो।
आठौं पुरुष राष्ट्रिय बिच प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ मा पुलिसका चन्द्र कुवँर र सफल विकको जोडीले सुदूरपश्चिमका नवराज धामी र बरुण ठगुन्नाको जोडीलाई २१-१० र २१-१२ ले पराजित गर्यो।
समूह ‘ग’ मा मधेश प्रदेशले विनय यादव र धिरेश यादवको जोडीले बागमतीका निर्मल बजगाईं र उपेन्द्र तामाङको जोडीलाई २२-१७ र २१-१६ ले तथा एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले मधेशका भरत यादव र इब्राहिम आलमको जोडीलाई २१-११ र २१-१० ले हरायो।