Prakash Adhikari January 19, 2025

काठमाडौं, ६ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा विश्व चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेले गए राति पोष्ट गरेको एक स्टाटसले नेपाली खेल जगतमा सनसनी मच्चाएको छ ।

उनले आफ्नो खेल र व्यक्तिगत रुपमा आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएर छोटो पोष्ट सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । जसमा भनिएको छ,

“सबैलाई धन्यवाद, सबैलाई, सबै कुराको लागि।
यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरूमेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै सधैं मेरो साथमा उभिनुभएको छ । मेरो लागि संसारको अर्थ नै तपाईंहरुको माया र प्रोत्साहन हो । यसले सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरुले अभिव्यक्त गर्नसक्ने भन्दा पनि बढी कृतज्ञ छु।”

सन्दीपको खेल जीवन संघर्षपूर्ण मात्र रहेको छैन् । उनको उत्कृष्ट खेल कौशलले संसारभर लाखौ नेपाली समर्थकहरु जन्मायो । तर त्यही कौशल र लोभलाग्दो उनको प्रगतिले घरेलु मैदान र विश्व मैदानमा पनि केहि अदृष्य ईश्र्यालु मित्रहरु पनि जन्मायो । उनी त्यसको कोपभाजनमा परे । जेल पुगे । निकै पीडादायी अवस्थाबाट गुज्रेर उनी सामान्य अवस्थामा आएका हुन् । ती अदृश्य पात्रहरुको कारण उनले तथाकथित महिलाविरुद्धको यौनदूराचार मुद्दाबाट सफाई पाएपछि पनि सन २०२४ को विश्वकपका अमेरिकामा भएका खेलहरुमा सहभागी नै हुन पाएनन् ।

जेलबाट खेलमा आउनुपूर्व वा आएपछि पनि उनलाई मनोसामाजिक परामर्शको आवश्यकता थियो । नेपाल क्रिकेट संघ वा उनी आफैले पनि त्यसप्रति ध्यान दिएको देखिएन । तर त्यस यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उनको प्रदर्शन पहिलेको स्तरमा पुग्न सकिरहेको छैन् ।

खेलको स्तर त कप्तान रोहित पौडेलदेखि नेपालका नम्बर एक कुशल भूर्तेलको पनि उकालो लागेको छैन् । नेपालको राष्ट्रिय ब्राण्डको रुपमा विकसित भैरहेको हालै सम्पन्न नेपाल प्रिमियर लिगमा पनि शीर्ष स्थानका खेलाडी भन्दा मध्यम स्तरका खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको देखिएको हो ।

खेलाडीको स्तर नबढ्नुको दोष प्रशिक्षकलाई दिने हो कि ? नेपाल क्रिकेट संघले लिने हो कि खेलाडीले लिने हो । मोन्टि देशाई ब्याटिड. प्रशिक्षक भएर आएपछि नेपाली खेलाडीको ब्याटिड. एक समय साह्रै सुधारिएको थियो । तर पछि भने ब्याटिड.को स्तर कमजोर भयो । ब्याट्सम्यानहरु अलराउण्डर बन्ने धूनमा बलरको भूमिकामा चम्किन थाले परिणाम कस्तो भयो भने न ब्याटिड.मा आशा गर्ने ठाँउ बन्यो न बलिड.मा ।

यो खालको मनोदशा सबै खेलाडीमा देखिएको छ । सन्दीपको फ्रस्टेशन आफूसंग मात्रै पनि छैन । जय ट्रफीमा सहभागी बन्दै गर्दा उनले नेपाली क्रिकेटका एम्पाएरको क्षमताका बारेमा पनि कुरा उठाए । त्यसको सुनवाई भयो कि भएन । परिणाम नदेखिएपछि जय ट्रफीको खेल मैदानमा उनी उनको खेलमा टिप्पणी गर्ने दर्शकविरुद्ध नै मैदानमा उत्रेर गाली गर्न अग्रसर भए । यो उनको अधीरताको पराकाष्ठा थियो ।

सन्दीपले यो स्टाट्समार्फत आफू राष्ट्रिय टिम छोड्ने संकेत गरेका हुन कि ? राष्ट्रिय टिमका कप्तानको परिवर्तन खोजेका हुन् कि ? उनी यौनप्रकरणमा मुछिएपछि रोहितले कप्तानी सम्हालेका हुन् । कप्तानको प्रदर्शन फितलो देखिदै आएकोमा राष्ट्रिय क्रिकेट टिम र बाहिरबाट पनि कप्तान फेर्न पर्ने आवाज आउन थालेको छ । उनको असन्तुष्टी प्रशिक्षकप्रति पनि लक्षित हो । वा समग्र नेपाली क्रिकेटको सुधारमा लक्षित हो खुल्न सकेको छैन् । खेल कौशल भएर पनि ब्यबहारिक ज्ञानमा परिपक्वता हासिल नगरेका सन्दीपले राष्ट्रिय टिम छोड्ने अठोट गरिसकेका हुन् कि देश छाड्ने मुडमा रहेका हुन् कि क्रिकेटबाटै सन्यास लिन खोजेका हुन् ? सबै कुरा अनुमानमै रहेको छ ।

उनको खेल उमेर बाँकी नै रहेकोले उनले आफ्नो खेल कौशलमा अझ निखार ल्याउन थप प्रशिक्षण लिन जरुरी छ । जेलबाट सीधै खेलमा फर्केका सन्दीपलाई मनोपरामर्शको पनि आवश्यकता परेको हुन सक्छ । यति बेला नेपाल क्रिकेट संघले उनी र उनीजस्ता प्रतिभाशाली खेलाडीहरुको गुनासो सुन्नुपर्छ र नेपालको क्रिकेटमा भएका कमी कमजोरी सुधार्नु पर्छ ।

 

 

Share Now