
क्वालालम्पुर(मलेसिया), १९ असार । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिव रज्जाक पक्राउ परेका छन्। भ्रष्टाचार अनुसन्धान गर्ने निकायले उनलाई मंगलबार पक्राउ गरेको दि सिड्नी मर्निङ हेराल्डले जनाएको छ।
उनलाई मंगलबार नै अनुसन्धानपछि एन्टी करप्सन एजेन्सीलाई बुझाइने बताइएको छ।
गत महिनामात्र मलेसियाका प्रधानमन्त्री महाथिर महोम्मदले अधिकारीहरुले नाजिवविरुद्ध त्यहाँको सरकारी कोषबाट अर्बौँको रकम हिनामिना भएको घटनामा अनुसन्धान गरिरहेको बताएका थिए।
महाथिर हालै सम्पन्न निर्वाचनमा नाजिवलाई पराजित गर्दै ९२ वर्षमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। नाजिव महाथिरले स्थापना गरेको पार्टीका नेता थिए। मलेसियामा बढ्दो भ्रष्टाचारसँगै महाथिरले उनै नाजिवविरुद्ध नयाँ पार्टी स्थापना गरी आन्दोलन छेडेका थिए।
निर्वाचनमा पराजित भएसँगै नाजिवले युनाइटेड मलाय नेसनल अर्गनाइजेनको अध्यक्षबाट राजिनामा दिएका थिए। यो मलेसियाको सबैभन्दा ठूलो तथा बेलायतबाट सन् १९५७ मा स्वतन्त्र भएपछि शासनमा रहेको पार्टी हो।
उनी पक्राउ परेसँगै मलेसियाको अध्यागमन विभागले उनीसँगै उनकी श्रीमती रोसमा मन्सुरलाईसमेत देश छाड्न रोक लगाएको छ।
यो प्रतिबन्ध उनले छुट्टी मनाउन बाहिर जाने योजना सार्वजनिक गरेलगत्तै सार्वजनिक भएको हो। एउटा हवाईपत्रमा उनीहरु निजी विमानबाट जकार्ता उड्न लागेको बताइएको थियो। मलेसियामा चर्चित ‘वान एमडी’मा मुछिएका उनी अभियोगबाट भाग्न लागेको बताएका थिए।
प्रधानमन्त्री महाथिरले यो प्रकरणलाई छानविन गर्ने र नाजिव दोषी पाइए कारवाही गर्ने बताएका थिए। यो कोष नाजिव सन् २००९ मा प्रधानमन्त्री भएसँगै स्थापना गरिएको थियो।
अमेरिकी अनुसन्धानकर्ताहरुले नाजिवको कम्पनीले ४.५ अर्ब डलर लुटेको तथा ६८१ मिलियन डलर नाजिबको बैंक एकाउन्टमा फेला परेको र ३० मिलियन डलर बराबरको रकमले उनकी पत्नीले गहना किनेको दाबी गरेको थियो।
नाजिवले भने आफूले कोषको कुनै दुरुपयोग नगरेको दाबी गरेका थिए। उनले आलोचना गर्ने महान्यायाधिवक्ता र उपप्रधानमन्त्रीलाई समेत बर्खास्त गरेका थिए। त्यसपछि सन् २०१६ मा नियुक्त भएको महान्यायाधीवक्ता मोहमद अपाण्डि अलीले उनलाई निर्दोष भन्दै सो रकम साउदीको शाही परिवारबाट अनुदानमा प्राप्त भएको र अधिकांश फिर्ता पठाइएको बताएका थिए।
यसैबीच नाजिवका सौतेनी छोरा रिजा अजिज समेत त्यहाँको भ्रष्टाचार विरोधी आयोगमा वयानका लागि उपस्थित भएका छन्।
साउथ चाइना मर्निङ पोष्टका अनुसार रेड ग्रानाइट पिक्चर इन्सका संस्थापक समेत रहेका उनी आयोगमा वान एमडीवी काण्डमा बयान दिन उपस्थित भएका थिए।
सो काण्डमा उनीसहित उनका साथी ल ताक झोसमेतको बैंक खाता रोकिएको छ।