
मस्को(रुस), १९ असार । विश्वकप फुटबलको नकआउट चरणमा राती हुने बेलायत र कोलम्बिया भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । छैठौँ पटक आमने सामने हुन लागेका यी दुई राष्ट्रबीचका यसअगाडिका ५ खेल बेलायतको पक्षमा गएको छ।
तर सन् २०१२ यता युरोपेली मुलुकसँगको कुनैपनि खेल कोलम्बियाले गुमाएको छैन। ६ खेलमा जीत हात पारेको उसले २ खेलमा बराबरी गरेको छ।
कोलम्बियाका कोच होजे पिकेमनले सन् २०१२ मा कमान सम्हाले यता कोलम्बिया फर्ममा छ। फलस्वरुप सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वाटरफाइनल पुग्यो। कोलम्बियाका स्टार जेम्स रोड्रिगेजले प्रतियोगितामा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जीते। तर आज इंग्ल्याण्ड विरुद्ध रोड्रिगेज खेल्ने निश्चित छैन। सेनेगल विरुद्धको खेलमा घाइते भएपछि उनले बीचैमा मैदान छाडेका थिए।
कोलम्बियाको मिडफिल्डमा यसपटक नयाँ जादुगर देखिएका छन्। कोलम्बियाले समूह चरणमा गरेका पाँच मध्ये तीन गोलमा वान फर्नान्डो किन्टेरोको भूमिका थियो। उनले जापान विरुद्ध फ्रिकीकबाट गोल समेत गरेका थिए। त्यस्तै कोलम्बियाका अर्का स्टार रेडेमल फाल्काओ फर्ममा छन्। उनी फ्रान्सको मोनाकोबाट व्यवसायिक फुटबल खेल्छन्।
अर्कोतर्फ बेलायतका देले अली आज मैदानमा फर्कने भएका छन्। चोटका कारण उनले पानामा र बेल्जियम विरुद्धको खेल गुमाएका थिए। त्यस्तै बेल्जियमसँगको खेलमा आराम दिइएका बेलायतका कप्तान हेरी केन पनि आज मैदानमा उत्रनेछन्। अली र केन दुवै टोटनह्यामका फरवार्ड हुन्। उनीहरु दुई बीच राम्रो तालमेल छ। केनले यो विश्वकपमा पाँच गोल गरिसकेका छन्।
कोलम्बियाले विश्वकपमा अहिलेसम्म खेलेका २१ वटै खेलमा गोल गरेको छ। तर पटक पटक कोलम्बिया नकआउट चरणमा पुग्न असफल भएको इतिहास छ। पाँचौ पटक विश्वकपमा सहभागी भैरहेको कोलम्बिया नकआउट चरण प्रवेश गरेको यो तेश्रो अवसर हो।
बेलायत विश्वकपमा अभागी राष्ट्रका रुपमा चित्रित छ। पछिल्लो ८ पटकको विश्वकप सहभागितामा इंग्ल्याण्डले २ पटक मात्र नकआउट खेल जितेको छ।
अन्तिम पटक सन् २००६ मा इक्वेडरलाई ‘राउण्ड १६’ मा हराए यता इंग्ल्याण्डले जित्न सकेको छैन।
विश्वकपमा सहभागी हुनु अघि बेलायतका घरेलु समर्थकले समेत विश्वकप जित्ने क्षमता नभएको टोलीका रुपमा चित्रित गरेका थिए। तर समुह चरणको प्रदर्शनपछि बेलायती टीमले आफूलाई जारी विश्वकपको दाबेदारको रुपमा प्रस्तुत गरेको छ। बेलायतलाई विश्वकपको फाइनल यात्रा तय गर्न कुनै पूर्व विजेताको सामुना गर्नुपर्ने छैन।
बेलायतका म्यानेजर गोरेथ साउथगेटले सर्वसाधारणसँग पुनस् जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन्।
‘हामीले एउटा स्याटल लयमा प्रदर्शन गरेका छौँ’, साउथगेटले भनेका छन्, ‘हाम्रा युवा खेलाडीले जस्तो क्षमता राख्छन् त्यो प्रदर्शन गरेका छन्।‘
त्यस्तै कोलम्बियाका कोच होजे पिकेमनले ‘राउण्ड सिक्सटिन’मा पुग्नुलाई उपलब्धि मानेका छन्।
’यी १६ वटा विश्वका उत्कृष्ट टोल हुन्’, पिकेमनले भनेका छन्, बेलायतका लागि राम्रो दिन वा खराब दिन दुवै हुनसक्छ।‘
कोलम्बियाका कोच डेभिड ओस्पिनाले सन् २०१४ को भन्दा अनुभवी भैसकेकाले आज रिजल्ट आफ्नो पक्षमा आउने दावी गरेका छन्।
बेलायतका कप्तान हेरी केनले भने इतिहास रच्ने लक्ष्य रहेको बताएका छन्।
‘हाम्रो इतिहास धेरै बर्षसम्म राम्रो रहेन। हामीलाइ पनि थाहा छ। हाम्रा फ्यानहरुलाई पनि। र यो हाम्रा लागि धारणा परिवर्तनको प्रयास गर्ने समय हो।‘