Prakash Adhikari January 20, 2025

क्वाललम्पुर(मलेशिया) ।मलेसियामा भइरहेको आइसीसी यु १९ महिला टी २० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहारेको छ ।

आज सम्पन्न खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेटको क्षतिमा हासिल गरेको थियो ।

स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २।२ तथा पुजा महतो र कृष्मा गुरुङले समान १।१ विकेट लिए।

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दा अल आउट भएको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई रोक्ने क्रममा स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २।२ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।

नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा स्कटल्याण्डको यो पहिलो जित हो । स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।

यो हारसँगै नेपालको सुपर सिक्स प्रवेशको सम्भावना कमजोर बनेको छ । नेपालले समूह चरणमा अब अष्ट्रेलियासंग खेल्न बाँकी छ ।

Share Now