Prakash Adhikari July 3, 2018

नेपालगञ्ज(बाँके),१९ असार । कैलाश मानसरोवर यात्राका क्रममा हुम्लाका विभिन्न भागमा अडकिएका भारतीय तीर्थयात्रीहरुमध्ये १ सय जना भन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले बताएका छन्।

हिल्सा क्षेत्रमा रहेकाहरुलाई हेलिकप्टर मार्फत सदरमुकाम सिमिकोटमा झार्ने र सिमिकोटमा रहेकाहरुलाई हवाइजहाजबाट नेपालगंज पु-याउने काम दिनभर जसो भएको बताइएको छ।

थोरै उडान र धेरै तीर्थयात्री रहेका कारण अझै पनि समस्या झेल्नु परेको तीर्थयात्रीहरुको भनाइ छ।

बैशाख महिनाको दोस्रो सातादेखि शुरु भएको कैलाश मानसरोवर तीर्थयात्रा भारतीय तीर्थयात्रीको प्रमुख आकर्षण मानिने गर्दछ।

केही दिन देखिको अधिक वर्षाका कारण हुम्लामा उडान हुन नसके पछि उक्त तीर्थयात्रामा रहेका झन्डै एकहजार जना हुम्ला जिल्लाका विभिन्न भागमा अड्किएर बस्न वाध्य भएको अनुमान गरिएको छ।

ती मध्ये मंगलवार केहीलाई हिल्साबाट सदरमुकाम ल्याइएको र केहीलाई नेपालगंज पठाइएको अधिकारीहरुलदे जनाएका छन्।

कठिनाइ भइरहेको छ। सिमिकोटको विमानस्थल बेलाबेला बन्द भैरहन्छ। हामी जान पाउँछौं पाउदैनौं टुङगो छैन। जहाजबाट जानका लागि ७ सय जना जति यहाँ छन्
श्रीलक्ष्मी, एक तीर्थयात्री

हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक रविन श्रेष्ठले भने, “मंगलवारबाट उडानहरु शुरु भएको छ त्यसले गर्दा अवस्था विस्तारै सुधार हुँदैछ। मौसम खुलेसँगै आवागमन सहज हुन्छ, अनि सबै तीर्थयात्रीहरुलाई फर्काउन सहज हुन्छ।”

हवाइसेवा मात्रै

हुम्ला जिल्ला सडकमार्गले नछोएको जिल्ला भएका कारण उडानकै भर पर्नु पर्ने अवस्था तीर्थयात्रीहरुलाई रहेको छ।

मंगलवार नेपालगंजबाट ८ वटा जहाजले हुम्लाको उडान गरेका थिए।

तर ती हवाइजहाजहरु थौरै सिट भएका कारण धेरैको उद्धार गर्न नसकिएको बताइएको छ।

सेनाका ठूला हेलिकप्टर भए आफुहरुलाई गन्तव्यमा जान सहज हुने तीर्थयात्रीहरुको भनाइ छ।

मंगलवारबाट उडानहरु शुरु भएको छ त्यसले गर्दा अवस्था विस्तारै सुधार हुँदैछ। मौसम खुलेसँगै आवागमन सहज हुन्छ, अनि सबै तीर्थयात्रीहरुलाई फर्काउन सहज हुन्छ
रविन श्रेष्ठ, प्रहरी प्रमुख, हुम्ला

सिट पाउन गाह्रो

तीर्थयात्री मध्येकी एक श्रीलक्ष्मीले भनिन्, “कठिनाइ भइरहेको छ। सिमिकोटको विमानस्थल बेलाबेला बन्द भैरहन्छ। हामी जान पाउँछौं पाउदैनौं टुङगो छैन। जहाजबाट जानका लागि ७ सय जना जति यहाँ छन्।”

निश्चित समय छुट्याएर आएको र भारत फर्किने उडानको मिति पनि पहिले नै तय भैसकेकाले अन्यौल बढेको उनीहरुको भनाइ छ।

अर्का तीर्थयात्री सतीशकुमारले भने, “हिल्सामा रोकिएका थियौं। हेलिकप्टर आए पछि हामी सिमिकोट आएका छौं। यहाँ धेरै मानिसहरु छन्, सबै नेपालगंज जान खोजिरहेका छन्। तर पर्याप्त जहाजहरु आएका छैनन्। अब नेपालगंज झरेर कहिले काठमान्डू पुग्ने हो, टुङगो छैन। ५ तारिखको टिकट छ, अब डर लागेको छ कि त्यो बेला सम्म पुग्छौं कि पुग्दैनौं।”

मौसममा क्रमश: सुधार आएको र बुधवार आकाश खुलेमा नेपालगंज विमास्थलमा रहेका ५ वटा हवाइजहाजले दिनभर उनीहरुलाई नेपालगंज ल्याउने काम गर्ने विमान कम्पनीहरुले जनाएका छन्।

चीनको तिब्बत क्षेत्रमा पनि उक्त यात्राका क्रममा रहेका ५ सय जति तीर्थयात्री रहेको र उनीहरुलाई त्यहीँ रोकेर राखिएको बताइएको छ।

बीबीसी

Share Now

Leave a comment.