पोखरा(कास्की), १३ माघ । एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवार सुनिलले हेल्प नेपाललाई ३ १ सेट पराजित गरेको हो । पहिलो सेट २२-२५ ले गुमाएको सुनिल क्लबले दोस्रो सेट २५-२३, तेस्रो २७-२५ र चौथो सेटमा २५-१६ ले आफ्नो पक्षमा पारेको हो ।
महिलातर्फ न्यु डायमन्ड क्लब विजयी
महिलातर्फ एपीएफ क्लबले ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–२ को सेटमा पराजित गरेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु प्रतियोगितामा दुई सेट गुमाएको एपीएफ पुनरागमन गर्दै जित निकाल्न सफल भयो । दोस्रो खेलमा टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पनि ३–२ को सेटमा पराजित गर्यो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पियो । तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो बनायो । चौंथो सेटमा न्यु डायमन्डले २५–१८ ले जितेर खेल बराबरी बनायो ।
महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३—० को सोझो सेटमा पराजित गरेको थियो ।
आज पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिचको खेल हुनेछ । त्यसपछि आर्मी क्लब र एपीएफबिच खेल हुनेछ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।