काठमाडौं, १४ माघ । अमेरिकामा रिपब्लिकन पार्टीबाट निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्ने वित्तिकै थालिएको खर्च कटौतीको असर नेपालमा पनि पर्न थालेको छ ।
अमेरिकी विदेश मन्त्रालयले इजरायल र सिरिया बाहेकका देशमा जाने अनुदान सहयोग ९० दिनलाई स्थगित गरेसंगै नेपालमा आउने अनुदान पनि प्रभावित भएको हो ।
अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता महेश भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग नियोक(युएसएआईडी) र नेपाल सरकारबीच भएको विकास सझौता अन्तर्गत चारवटा आयोजना प्रभावित भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, “USAID र नेपाल सरकारबीच ०५ मे २०२२ मा हस्ताक्षरित Development Objective Agreement (DOAG) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका (On-Budget On-Treasury) चार वटा आयोजनाहरु क्रमशः USAID Health Direct Financing Project, USAID Agricultural Direct Financing Project, USAID Education Direct Financing Project र USAID Inclusive Policy Direct Financing Project मा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको USAID नेपालले पत्रमार्फत जानकारी गराएको छ।”
विज्ञप्तिमा यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत USAID श्रोततर्फ कुनै दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराईएको छ।