Prakash Adhikari February 2, 2025

 

पोखरा(कास्की), २० माघ । आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ।

आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो।

प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र आठ पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच हुनेछ।

१२ टोलीको सहभागिता रहने प्रतियोगितामा उज्वेकिस्तान को ब्ल्याक बुल्स एफसीसहित ३ विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन्।

‘विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गरौं’ भन्ने मुख्य उद्देश्यका आयोजना हुने प्रतियोगिताको संरक्षकका रुपमा पोखरा महानगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रा लिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।

ब्ल्याक बुल्ससहित सहभागी हुने ए डिभिजनका टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन् । आयोजना सहारा, एपिएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड छन्।

कार्यक्रममा मुख्य प्रायोजन हिम श्रीका निर्देशक प्रकाश केसीले सहारा र आफूहरु एउटै परिवारका रुपमा अघि बढेको बताउनुभयो।

प्रतियोगिताको च्याम्पियन टोलीले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता संचालनबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बाल बालिकाको लागि खर्च गरिनेछ ।

Share Now