सीमामा कडाइ गर्ने प्रतिबद्धतापछि ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क एक महिना स्थगित
काठमाडौं, २२ माघ (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत हुनुभएको छ।
ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र फेन्टनिल (औषधी को ओसारपसार रोक्न अमेरिकासँगको सीमामा कडाइ गर्न सहमति जनाउनुभएको हो।
ट्रम्पले आफू प्रारम्भिक परिणामबाट एकदम सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभएको छ।
त्यसअघि उनले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमसँग पनि यस्तै सहमति गर्नुभएको थियो। मेक्सिकोकी राष्ट्रपतिले उत्तरी सीमामा थप १० हजार सैनिक खटाउन सहमति जनाउनुभएको थियो ।
त्यसको बदलामा मेक्सिकोमा बन्दुकहरूको प्रवाहलाई सीमित गर्ने अमेरिकाले प्रतिबद्धता जनाएको थियो।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको थियो।
उक्त कदमको विरोध गरेका तीनै देशले आफूले पनि त्यस्तै प्रकृतिको आयात शुल्क अमेरिकी उत्पादनहरूमा लगाउने घोषणा गरेपछि विश्व नयाँ व्यापार युद्धमा प्रवेश गर्न लागेको भन्दै टिप्पणीहरू भइरहेका थिए।
क्यानडासँग कस्ता सहमति भए ?
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो सीमा योजना अन्तर्गत १.३ अर्ब डलर थप हेलिकोप्टर, प्रविधि र जनशक्ति सीमा क्षेत्रमा खटाउन लगानी गर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले जनाए अनुसार उक्त रकमबाट फेन्टनिलको प्रवेश अमेरिकामा रोक्न समेत थप स्रोतहरू परिचालन गरिनेछ।
उहाँले अग्रपङ्क्तिमा १० हजारभन्दा बढीले सीमा रक्षाका लागि काम गरिरहेको भन्दै क्यानडाले सङ्गठित आपराधिक गिरोहहरूलाई आतङ्कवादी घोषणा गर्ने र सातै दिन चौबीसै घण्टा सीमामा नजर राख्ने उल्लेख गर्नुभएको छ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले गैरकानुनी लागुऔषधलाई अमेरिकामा प्रवेश गर्नबाट रोक्न क्यानडा सहमत भएकाले आफूले आयात शुल्क लगाउने निर्णय स्थगित गरेको ट्रम्पले उल्लेख गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, ूक्यानडाले हाम्रो उत्तरी सीमा सुरक्षित रहेको सुनिश्चित गर्न सहमति जनाएको छ।ू
क्यानडाका प्रधानमन्त्रीको ट्वीटलाई उद्धृत गरेका ट्रम्पले फेन्टनिलको बिक्री रोक्न ुजारु नियुक्त गर्ने र ुआपराधिक गिरोहहरूलाई आतङ्कवादीको सूचीमा राख्नेु निर्णय क्यानडाले गरेको उल्लेख गर्नुभएको छ।
ट्रम्पले प्रारम्भिक नतिजाबाट आफू ज्यादै सन्तुष्ट भएको र शनिवार घोषणा भएको आयात शुल्कलाई ३० दिन स्थगित गरेर क्यानडासँग नयाँ आर्थिक सम्झौता गर्न सकिने या नसकिने टुङ्गो पुगिने जानकारी दिनुभएको छ।
उक्त घोषणापछि क्यानडाका राजनीतिक र व्यापारिक नेताहरूले राहतको महसुस गरेका विवरणहरूमा जनाइएको छ।
मेक्सिकोमाथि लगाइएको आयात शुल्क एक महिना स्थगन गर्ने निर्णय बिहानै आएको भएपनि क्यानडालाई पनि त्यस्तै किसिमले व्यवहार गरिन्छ कि गरिँदैन भनेर चासोसाथ हेरिएको थियो।
ट्रुडोले अहिले घोषणा गरेका अधिकांश सीमा सुरक्षा सम्बन्धी योजनाहरू उहाँले गएको डिसेम्बरमा नै सार्वजनिक गर्नुभएको हो ।
यसमा थपिएको नयाँ निर्णय भनेको फेन्टनिल ओसारपसार रोक्ने ुफेन्टनिल जारु को नियुक्ति र २० करोड डलर बराबरको गुप्तचर निर्देशिका कार्यान्वयन रहेको छ।
सोमवार नै दुई देशका सीमा क्षेत्रमा ड्रोन र ब्ल्याक हक हेलिकोप्टरहरू निगरानीमा परिचालित भएका थिए।
टोरन्टोबाट बीबीसीकी जेसिका मर्फी भन्नुहुन्छ अहिले पनि आयात शुल्कको जोखिम कायमै छ। तर ट्रम्प र ट्रुडो दुवैले पछिल्लो स्थितिलाई आफ्नो राजनीतिक जितका रूपमा प्रस्तुत गर्न सक्छन्।
अमेरिकी राष्ट्रपतिले सीमा सुरक्षा वृद्धि भएको दाबी गर्न सक्छन् भने ट्रुडोले सम्भावित घातक आयात शुल्कलाई पछि धकेलेकोलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्नसक्छन्।
मेक्सिकोसँग के सहमति भयो?
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आधा घण्टाभन्दा लामो टोलिफोन कुराकानी भएपछि मेक्सिकोलाई घोषणा गरिएको आयात शुल्क स्थगित भएको घोषणा गरिएको थियो।
उक्त कुराकानीपछि त्यसबारेको अद्यावधिक जानकारी सामाजिक सञ्जालमा राखेर उनी उक्त पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको थियो।
मेक्सिकोले थप १० हजार न्याश्नल गार्डका फौजहरू अमेरिकासँगको सिमानामा तैनाथ गरेर फेन्टनिल तस्करी रोक्न केन्द्रित हुने उहाँले बताउनुभयो । त्यसको सट्टा अमेरिकाले मेक्सिकोका उत्पादनमाथिको थप आयात शुल्क एक महिना रोक्न सहमति गरेको थियो।
दुवै नेताहरूले यसलाई जितका रूपमा अर्थ लगाउने मेक्सिको सिटीस्थित बीबीसी संवाददाता विल ग्रान्ट बताउनु हुन्छ।
उहाँले भन्नुभयो, ूक्लाउडिया सेनाबाउमको आँखाबाट हेर्दा उनी आफ्नो देशलाई क्षति पुर्याउने २५ प्रतिशत आयात शुल्क केही समयका लागि रोक्न र आफ्नो देशका लागूपदार्थ कारोबारमा सक्रिय गिरोहलाई सशस्त्रीकरण गरिरहेको शक्तिशाली अस्त्रहरू दक्षिणबाट मेक्सिको भित्रने कुरा रोक्न थप कदम चाल्ने प्रतिबद्धता ट्रम्पबाट लिन सफल हुनुभएको छ।ू
राष्ट्रपति ट्रम्पले चाहिँ आयात शुल्कको चेतावनीले मेक्सिको सरकारलाई वार्ताको टेबलमा ल्याएको र आफूले माग गरेको जस्तो सीमा सुरक्षा वृद्धि सम्भव तुल्याएको तर्क गर्न सक्नुहुन्छ।
तीस दिनको समयसीमा सकिएपछि क्यानडा र मेक्सिकोमाथिको थप आयात शुल्कको सवालमा ट्रम्प कसरी अघि बढ्नुहुन्छ त्यो स्पष्ट छैन्।
तर यसले अनिश्चितताको भय कायम राख्ने र यो विवाद हल नहुन्जेल व्यापारीहरूलाई अमेरिकी बजारको निर्भरता कम गर्न र नयाँ उद्योग स्थापना र कामदार भर्ना स्थगित गर्ने अवस्थामा पुर्याउनसक्ने देखिन्छ।
चीनमाथिको आयात शुल्क के हुन्छ ?
मङ्गलवार मध्यरातबाट चिनियाँ उत्पादनमाथि लगाइएको १० प्रतिशत आयात शुल्क कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ।
सोमवारसम्म ट्रम्प र चिनियाँ नेताबीच कुराकानी भएको छैन तर ट्रम्पले ुसम्भवतस् २४ घण्टाभित्रु दुई देशका नेताबीच कुराकानी हुने सङ्केत गर्नुभएको छ।
उहाँले चीनमाथि लगाइएको १० प्रतिशत आयात शुल्कलाई ुसुरुवातीु भन्दै सम्झौता नभएको खण्डमा त्यो उल्लेखनीय बन्न जाने पनि बताउनुभएको छ ।
विश्लेषकहरूले ट्रम्पको प्रतिक्रियाको अर्थ आयात शुल्क १० प्रतिशत भन्दाबढी लगाइन सक्ने रूपमा पनि लगाइरहेका छन्।
शनिवार ट्रम्पले चीनमा उत्पादित बस्तुमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। चीनले उक्त कदमको विरोध गर्दै आफूले त्यसविरूद्ध विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गर्ने जनाएको थियो।


















