Prakash Adhikari July 7, 2018

 

मस्को(रुस),२२ असार । उरूग्वेलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको छ ।

रसियामा शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा उरूग्वेलाई पराजित गरि फ्रान्स सेमिफाइनल पुगेको छ भने उरूग्वेको २१ औं संस्करणको फुटबल विश्वकप यात्रा सकिएको छ।

उरूग्वे आज आफ्ना स्टार खेलाडी कभानी बिनै मैदानमा उत्रिएको थियो।

आजको खेलमा फ्रान्सले उरूग्वेविरूद्ध पहिलो अग्रता खेलको पहिलो हाफमा लिएको थियो। खेलको ४० औं मिनेटमा राफेल भारानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

फ्रिकिकबाट आएको बललाई राफेलले जाली चुमाउँदै फ्रान्सलाई अग्रता दिलाएका हुन्। लुकास हेर्नानडेजले नान्देजलाई फल गरेपछि फ्रान्सले फ्रिकिकको अवसर पाएको थियो।

 

https://youtu.be/42qs9eEqoAc

 

पहिलो हाफमा एक गोलले अगाडी रहेको फ्रान्सले दोश्रो हाफमा आफ्नो अग्रतालाई दोब्बर पार्‍यो। उरूग्वेका गोल रक्षक फरनान्डो मुलसेराको विर्सनलायक गल्तीले गर्दा सो गोल खान पुगेको थियो।

फ्रान्सका ग्रिजम्यानले डिवक्सबाहिरबाट प्रहार गरेको बल मुलसेराले हल्का ढंगले लिन खोज्दा उनको हातमा डिफ्लेक्स् हुँदै पोस्टमा छिरेको थियो।

जारी विश्वकपभरी १ गोल खाएका मुलसेराले घर फर्किनुअघि एक घण्टाको समयमा २ गोल खान पुगे। सन् १९९८ को विश्वकप विजेता फ्रान्स १२ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो।

फ्रान्सले अब फाइनल प्रवेशका लागि बेल्जियम र ब्राजिलबीचको खेलको विजेतासँग खेल्नेछ।

 

Share Now

Leave a comment.