
जनकपुर, २३ माघः नव मिथिला फाउन्डेसनको आयोजनामा छैटौँ जनकपुर साहित्य महोत्सव यही माघ २४ गतेदेखि आयोजना गरिने भएको छ । ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ भन्ने नारासहित बिहीबारदेखि सुरु हुने महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । फाउन्डेसनले विगत पाँच वर्षदेखि महोत्सव आयोजना गर्दै आएको छ ।
मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष अमितकुमार साहले महोत्वको अन्तिम तयारी तीब्र रूपमा भइरहेको जानकारी दिँदै महोत्सवमा मिथिलाको साहित्यिक, सांस्कृतिक र सामाजिक चेतनालाई समेटेर विविध सत्र सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँले महोत्सवले साहित्य र समाजका विविध पक्षमा गहन छलफल, बहस र समालोचनाका माध्यमबाट समृद्ध ज्ञानको आदानप्रदान गर्ने उद्देश्य राखेको बताउनुभयो ।
“यसपटक पनि हामीले साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता महत्वपूर्ण विषयहरूमा सत्रहरू आयोजना गर्ने तयारी गरेका छौँ । तीनै दिन साङ्गीतिक प्रस्तुति र साहित्यिक सत्रले महोत्सवलाई अझ रचनात्मक र उत्साहजनक बनाउने हाम्रो विश्वास छ”, अध्यक्ष साहले भन्नुभयो ।
फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले यसपटक १४ वटा ‘प्यानल डिस्कसन’ र तीन वटा एकल प्रवचन कार्यक्रम महोत्सवमा विशेष आकर्षणका रूपमा रहेका बताउनुभयो । महोत्सवमा ‘जनकपुरधामका चुनौती र अवसर’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेटः समस्या, समाधान र सम्भावना’, ‘मधेश महिमाः उत्सवको व्यावसायीकरण’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’, ‘केन्द्रको दृष्टिमा मधेश’,‘आन्दोलन र साहित्य’, ‘नेपाली उद्यमीको यात्रा’, ‘आनन्दको खोजी’, ‘समाज, साहित्य सिनेमा’, ‘मधेशको मत’,‘कुलमान घिसिङको एकल प्रवचन’, ‘संविधान, सङ्घीयता र कानुनी राज्यको अभ्यास’ लगायत १७ वटा शीर्षकमा बहस हुने उहाँले जानकारी दिनुभयो ।
महोत्सवको अन्तिम दिन शास्त्रीय सङ्गीतकार स्वर्गीय गुरूदेव कामतको परिवारलाई ‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ प्रदान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।