
कीर्तिपुर(काठमाडौं), २३ माघ । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा भैरहेको त्रिकोणात्मक महिला टी २० अन्तराष्ट्रिय खेल अन्तरगत आज भएको खेलमा नेपालले नेदरल्याण्ड्ससामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो ।
नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् ।
करियरको पहिलो अर्धशतक गत वर्ष माल्दिभ्सविरुद्ध प्रहार गरेकी थिइन् । तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरे । इन्दुले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् ।
रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् ।
पूजाको यो रन यस सिरिजकै व्यक्तिगत सर्वाधिक रन हो । यस सिरिजमा अर्धशतक बनाउँने पहिलो नेपाली ब्याटर हुन् ।
नेपाललाई रोक्ने क्रममा नेदरल्याण्ड्सका लागि आरिस विलिङले २ तथा कोरोलिङ डि लाङ र हेटर सिगर्सले समान १ । १ विकेट लिएका छन्।