Prakash Adhikari February 7, 2025

कीर्तिपुर(काठमाडौं), २५ माघ । नेपालमा जारी महिला त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय श्रृखला अन्तर्गत आज आयोजक नेपालले आफ्नो तथा श्रृखलाको अन्तिम खेल थाइल्याण्डसंग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुने खेल नेपालका लागि प्रतिष्ठाको खेल भएको छ । यस श्रृखला अन्तरगत आफूले प्रतिस्पर्धा गरेका हालसम्मका पाँच खेलमा नेपालले विजयको खुसी लिन पाएको छैन् । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

घरेलु मैदानमा भएको खेलमा सान्त्वना जित निकालेर आफ्नो प्रतिष्ठा जोगाउने नेपालको लक्ष्य रहेको छ । नेपाली टोलीको ब्याटिड.मा सुधार भए पनि फिल्डिड. र बलिड.को कमजोरीले केही खेल गुमाएको स्थितिमा सम्हालिएर खेले नेपालले थाइल्याण्डलाई पराजित गर्न सक्छ ।

थाइल्याण्डले यस श्रृखलामामा खेलेका ५ मध्ये ४ मा विजय र १ मा पराजय ब्यहोरेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । सिरिजमा नेपाल र थाइल्याण्ड तेस्रो पटक आमने सामने हुदैछन् । अघिल्लो दुवै भेटमा थाइल्याण्डले नेपाललाई हराएको थियो ।

नेपाल र थाइल्याण्डबीचको यो खेलले नै उपाधि टुंगो लगाउने हुँदा यो खेल महत्वपूर्ण रहेको छ । नेपालले थाइल्याण्डमाथि फराकिलो जित निकालेमा नेदरल्याण्ड्सले श्रृखला जित्नेछ । सामान्य अन्तरमा पराजित भएमा या नेपाललाई पराजित गरेमा थाइल्याण्ड विजेता बन्ने छ ।

Share Now