Prakash Adhikari July 8, 2018

टोकियो(जापान), २४ असार (बीबीसी) । जापानका प्रधानमन्त्री शिन्जो आबेले बाढीपहिरोका कारण फसिरहेका मानिसहरूलाई बचाउन समयसँग संघर्ष गरिरहनु परेको बताएका छन्।

अझै भारी वर्षा हुने बताइँदै गर्दा पश्चिमी जापानका कैयौं भेगमा आएको घातक बाढी तथा पहिरोले त्यहाँ अभूतपूर्व खतरा उत्पन्न गराएको अधिकारीहरूले चेतावनी दिएका छन्।

ती विपदका कारण कम्तीमा ५७ जनाको ज्यान गएको छ।

एकजना मौसमसम्बन्धी अधिकारीले यस्तो प्रकारको वर्षा पहिले कहिल्यै अनुभव नगरिएको बताए।

हिरोशिमा तथा अन्य क्षेत्रमा परेको भारी वर्षापछि त्यहाँका नदीहरूमा बाढी आएको थियो।

करिब ५० लाख मानिसलाई सुरक्षित हुन बसेको ठाउँबाट अन्यत्र जान भनिएको छ।

मद्दत
प्रधानमन्त्री आबेले थुप्रै मानिस अझै हराइरहेको र थुप्रैलाई मद्दत आवश्यक भएको बताए।

बिहीवार यतामात्रै पश्चिमी जापानका भागहरूमा जुलाई महिनाभर सामान्यतया पर्ने पानीको परिमाणभन्दा तीन गुना बढी पानी परेको थियो।

टोक्योदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ।

हिरोशिमादेखि ३०० किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको थियो।

केही क्षेत्रमा अझै पानी पर्ने चेतावनी दिइएको छ।

जापान मौसम विज्ञान निकायका एकजना अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै यो अत्यन्तै खतराको अवस्था भनेका छन्।

Share Now

Leave a comment.