
भुवनेश्वर(ओडिसा,भारत), ६ फागुन । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युका विषयमा छानबीन गर्न स्थानीय प्रशासनले उनका ब्वाईफ्रेण्डलाई पक्राउ गरेको छ । उनी एअरपोर्टबाट बाहिर जान लागेका थिए ।
बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएकी थिइन । लम्साललाई भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गरेको र असह्य भएपछि लम्सालले आत्महत्या गरेको हुनसक्ने नेपाली विद्यार्थीहरुको भनाइ छ । यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीहरुले बताएका छन्।
दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेको नेपाली विद्यार्थीले बताएका छन् । नेपाली विद्यार्थी आइतबार राति विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी दिन गएका थिए ।उनीहरुको कुरा राम्रोसंग सुनिएन ।
आइतबार साँझ ४–५ बजे प्रकृतिको आत्महत्याको खबर विश्वविद्यालयमा फैलिए लगत्तै नेपाली विद्यार्थी प्रदर्शनमा उत्रिएका थिए । त्यसलगत्तै उनलाई किम्स अस्पताल लगिएको थियो । राति १० बजे प्रदर्शन सुरु भएपछि विद्यार्थीमाथि चरम दमन भयो र सोमबार बिहान सबैलाई छात्रावासबाट निकाल्न थालियो ।
नेपाली विद्यार्थीलाई दमन गरेर विश्वविद्यालय र छात्राबासबाट निकालिएको घट्नाको नेपालको संसदमा कुरा उठेपछि यसको असर नेपालको परराष्ट्र मन्त्रालय, भारतस्थित नेपाली राजदूताबास, भारतको विदेश र गृह मन्त्रालय हुँदै ओडिसाको मुख्य मन्त्रीको कार्यालय हुँदै विश्वविद्यालयसम्म पुग्यो ।
विश्वविद्यालयले कक्षा बन्द गरी छात्रबास खाली गर्नका लागि आफूले पहिले लिएको निर्णय रद्द गर्दै नेपाली विद्यार्थीहरुलाई आआफ्नो निवासमा फर्कन र विश्वविद्यालय खुलेपछि अध्ययनमा फर्कन आग्रह गरेको छ । उसले घटनाको निश्पक्ष छानबिन गर्न प्रहरी प्रशासनलाई जिम्मा लगाइएको बताएको छ । स्थानीय अनुसन्धान पूरा नहुञ्जेल शान्ति कायम गर्न विद्यार्थीलाई अनुरोध गरेको छ ।
यस घटनाको सम्बन्धमा नयाँदिल्लीस्थित नेपाली दूताबासले पनि चासो राखी मुख्यमन्त्रीसमक्ष यस विषयमा जानकारी गराएको र विद्यार्थीहरुलाई पुनः विश्वविद्यालयको छात्रावास फर्कन व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
परराष्ट्रमन्त्री राणाको सक्रियता
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ ।
सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा हाल ओमनमा रहनुभएका मन्त्री डा देउवाले सोमबार बिहानदेखि नै आफूले कूटनीतिक पहल सुरु गरेको जानकारी दिनुभएको छ ।
मन्त्री डा देउवाले आफूले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको र उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको बताउनुभएको छ ।