
टोरन्टो (क्यानडा), ६ फागुन । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक अमेरिकी यात्रुवाहक विमान पल्टिएर जमिनमा उल्टो परेको अवस्थामा पुग्दा त्यसमा सवार केही यात्रुहरू घाइते भएका बताइएको छ।
अमेरिकी सहर मिनिसोटाबाट उडेको डेल्टा एअरलाइन्सको उडानमा सवार रहेका सबै ८० जना मानिसहरूको उद्धार गरिसकिएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ।
दुर्घटनाग्रस्त उक्त विमान टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा छ।
अनलाइनहरूमा राखिएका नाटकीय भिडिओ फुटेजहरूमा अग्नि नियन्त्रकहरूले विमानबाट यात्रुहरूलाई बाहिर निकालिरहेको देखिन्छ।
स्थानीय समय अनुसार दुर्घटना सोमवार दिउसो २ बजेर १५ मिनेट जाँदा भएको थियो।
प्रहरीले दुर्घटनाको कारण अहिलेसम्म थाहा नभए तापनि अधिकांश यात्रु सकुशल रहेको जनाएको छ।
१८ जनालाई अस्पताल पुर्याइएको छ। एक बालकसहित तीन जनालाई गम्भीर चोट लागेको बताइएको छ।
छानबीन
क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले आफूले यस ूगम्भीर घटनाू को निगरानी गरिरहेको बताउनुभएको छ।
विमानस्थलकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले मानवीय क्षति नहुनुमा आपत्कालीन सेवाका मानिसहरूको चुस्त प्रतिकार्यलाई श्रेय दिनुभयो।
क्यानडाको यातायात सुरक्षा बोर्डले ूविवरण सङ्कलन र घटनाको मूल्याङ्कन गर्नू टोली खटाइँदै गरेको जनाएको छ।
दुई धावनमार्ग अनुसन्धानका लागि कैयौँ दिन बन्द रहने र यात्रुहरूलाई केही ढिलाइका लागि तयार रहन भनिएको छ।
मौसमी मार
यतिखेर टोरन्टोमा कठ्याङ्ग्रिँदो जाडो छ र तीव्र गतिको हावा पनि चलिरहेको छ। त्यहाँ एक साताको अन्तरालमा दुई वटा हिम आँधी पनि चलेका थिए।
बुधवार र शनिवार आएका दुई हिम आँधीले सहरमा ३०-५० सेन्टिमिटर हिउँ जमेका छन्।
घटनाअघि विमानस्थलले सोमवार १ हजार भन्दा धेरै उडानमा १ लाख ३० हजार भन्दा धेरै यात्रुहरू उड्ने तालिका रहेको भन्दै एक व्यस्त दिन हुने अपेक्षा गरिएको जनाएको थियो।
सो विमानस्थलले सप्ताहान्तदेखि सोमवारसम्म सयौँ उडान रद्द र तालिका सार्ने काम गरिरहेको थियो।
बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार दुर्घटनाका बेला त्यहाँ हलुका हिमपात भइरहेको थियो।
यो दुर्घटना पछिल्लो महिनामा उत्तर अमेरिकामा भएको कम्तिमा चौथो ठूलो हवाई दुर्घटना हो।
यसअघि ज्यानुअरी अन्तिममा वाशिङ्टनस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्न लागेको अमेरिकी एअरलाइन्सको यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खस्दा विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको थियो।