
काठमाडौं, ६ फागुन । नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थ मन्त्रालयका प्रवक्ताले बताउनुभएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको सहसचिव श्यामप्रसाद भण्डारीले बताउनुभयो।
अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो। अमेरिकाको ५०० मिलिअन डलर र नेपालको १९७ मिलिअन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो।
निकै विवादका माझ नेपालको संसद्ले व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपछि एमसीसीको कार्यान्वयन डेढ वर्ष अगाडि सुरु भएको थियो।
तर पछिल्लो निर्णयसँगै यसको भविष्य अन्योलमा परेको छ।