
कैलाली, १४ फागुनः धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास ‘बी’ र भिमदत्त भिड्ने भएका छन् । फाइनल खेल यही फागुन १४ गते दिउँसो १ बजेदेखि हुने आयोजकले बताएको छ ।
पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास नगरपालिका ‘बी’ फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा बाजुराको त्रिवेणी नगरपालिकालाई ३२ रनले पराजित गर्दै कञ्चनपुरको भिमदत्त नगरपालिका फाइनलमा प्रवेश गरेको हो । भिमदत्तले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा त्रिवेणीले १९ दशमलव एक ओभरमा अलआउट हुँदै एक सय रनमात्र बनाउन सक्यो । त्रिवेणीका लागि सुमित श्रेष्ठले सर्वाधिक २५ रन बनाए । विजय रानाले २१ रन बनाउँदा तुलबहादुर थापाले १९ रनको योगदान दिए । भिमदत्तका लागि अरुण ऐरीलले पाँच विकेट लिए । उनी प्लेयर अफ द म्याच चुनिए । त्यस्तै विकास आग्रीले दुई तथा साजन बिटालु र किरण चन्दले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्तले १९ दशमलव एक ओभरमा अलआउट हुँदै एक सय ३२ रन रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागि ओपनर ब्याटर अविषेक थापाले ४३ रनको अविजित पारी खेले । कप्तान प्रकाश पाण्डेयले १६ रन बनाउँदा मिलन बोहराले १४, साजन बिटालुले १३, नितेन विष्ट र समिर विष्टले समान १२–१२ रन बनाए । त्रिवेणीका लागि दीपक टमाट्टाले तीन विकेट लिए । दिनेश महरा र सन्दीप मौरियाको नाममा दुई–दुई विकेट रह्यो ।
प्रतियोगिताको विजेता टोलीले रु दुई लाख, उपविजेता टोलीले रु एक लाख, सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार, उत्कृट बलर र ब्याटरले जनही रु १५–१५ हजार, उदयमान खेलाडीले रु १० हजार र प्लदेयर अफ द म्याच हुनेले रु दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट सङ्घ कैलालीले जनाएको छ ।
—