Prakash Adhikari February 26, 2025

छेन्दु(चीन), १४ फागुन । नेपाली काँग्रेसकी नेतृ एवम पूर्वउपँप्रधान एवम परराष्ट्रमन्त्री सुजाता कोइरालाको नेतृत्वमा चीन भ्रमणमा रहेको प्रतिनिधि मण्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरुबीच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।

भेटमा आपसी सद्भाव र सहयोग अभिबृद्विसंगै कृषि, शिक्षा, स्वास्थ्य, संचार, पर्यटन लगायतका विषयमा गर्न सकिने सहकार्यबारे समेत छलफल भएको भेटमा सहभागी नेता बर्मा लामाले जानकारी दिनुभएको छ ।

भेटवार्ताका अवसरमा नेतृ कोइरालाले लिखित मन्तब्य राख्दै चीन नेपालको एक असल छिमेकी भएको र चीनको चासोको विषयमा नेपाली काँग्रेस र नेपाल सरकार सदैव सचेत रहेको जानकारी गराउनुभएको थियो । उहाँले नेपाल र नेपालीको हित र विकासका लागि चीनले पुर्याउँदै आएको सहयोगको पनि सराहना गर्नुभएको थियो ।

भेटमा सहभागी नेता लामा, किरण यादव र देवराज चालिसेका अनुसार यो भेटले चिनियाँ कम्युनिस्ट पार्टी र काँग्रेसबिचको सम्बन्ध अझै बलियो बनाउन मद्वत पुग्नेछ ।

नेतृ कोइरालाको नेतृत्वमा १५ जनाको प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा रहेको छ । प्रतिनिधि मण्डलमा कृष्ण मल्ल (चलचित्र कर्मी) , कृष्ण मल्ल (पत्रकार),चिरन्जीवि मास्के (पत्रकार), गोकर्ण भन्डारी, ( पत्रकार) , आर्यन नकर्मि (फिल्म निर्देशक) पनि रहनुभएको छ ।

आजको भेटवार्तामा चीनकोतर्फबाट सीपीसी सिचुवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु,सीपीसी सिचवानकै विदेश विभाग निर्देशक झाङ फेन लगायत ८ जना नेता सहभागी हुनुहुन्थ्यो ।

भेटमा चिनियाँ नेताहरुले नेपालसंगको साँस्कृतिक सहकार्य र विकासलाई पनि संगसंगै अघि बढाउन इच्छा व्यक्त गरेका थिए ।

भेटवार्ताअघि कोइराला नेतृत्वको ट‍ोलीले सिचवानको प्रसिद्व म्युजियम र साँस्कृतिक क्षेत्रको अवलोकन गरेको थियो ।

कोइरालासहितको टोली चार दिन छेन्दुमा बसेर बेइजिङ पुग्नेछ । बेइजिङमा पनि चिनियाँ नेताहरुसंग सौहार्दपूर्ण भेटवार्ताको कार्यक्रम रहेको नेतृ कोइरालाले जानकारी दि नुभएको छ ।

Share Now