
काठमाडौं, १४ फागुन । फोर नेसन्स इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको आज भएको फाइनलमा नेपाल घरेलु मैदानमा उपाधि चुम्ने अवसरबाट बञ्चित भएको छ । खेलमा प्रतिस्पर्धी म्यानमारसँग नेपाल २-० गोल अन्तरले स्तब्ध हुन पुग्यो ।
१५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेटभित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई उपाधि उचाल्ने अवसरमा अवरोध सिर्जना गर्यो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे।
पहिलो हाफमा नेपालले म्यानमारलाई दबाबमा राख्न सफल भयो। गोल गर्ने केहि उत्कृष्ट मौकालाई नेपालले सदुपयोग गर्न सकेन्। दोस्रो हाफमा म्यानमारले रवाफिलो प्रदर्शन गर्यो।
खेलको २४ औं मिनेटमा नेपाल गोल खानबाट जोगियो। म्यानमारकी सान थाउ थाउले हानेको प्रहारमा गिल किपर अञ्जिला तुम्बाप्पो सुब्बा बिट भैसक्दा विमला बिकले गोल लाइनबाट बचाइन्।
खेलको ३५ औं मिनेटमा नेपालले गोल गर्ने मौका चुकायो। साम्बाले हानेको प्रहारलाई म्यानमारकी गोल किपर मो मो म्याले बचाइन्। रिबाउन्डमा साम्बाको हेडरमा रेखाले क्लोज रेन्जबाट हानेको प्रहारमा पनि किपर बाधक भइन्। क्लियर हुन नसकेको बलमा सबिताको प्रयास पनि सफल हुन सकेन्।
४४ औं मिनेटमा नेपालले अर्को मौका गुमायो। रेणुका नगरकोटीले दिएको लामो क्रसमा गोल किपरले फुत्काएको बलमा क्लोज रेन्जमा रहेका साम्बा र रेखाले बलको सदुपयोग गर्न सकेनन्।
खेलको ५५ औं मिनेटमा विमला विकको क्रसमा साम्बाको हेडर पोष्ट नजिकैबाट बाहिरियो। ६२ औं मिनेटमा हजारौं घरेलु दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो। यु पेर खिनेले एकल प्रयासमा टाइट याङगलबाट सेकेन्ड बारमा हानेको प्रहार गोलमा परिणत भयो।
पहिलो गोल खाएको नेपाल सम्हालिन नपाउँदै ६४ औं मिनेटमा म्यानमारले अग्रता दोब्बर बनायो । कप्तान विन थेङ्गी तुनले हानेको प्रहार गोल किपरले बचाउने प्रयास गरेपनि रश्मी कुमारी घिसिङलाई लागेर गोलमा परिणत भयो।
दुई गोल खाएपछि ७० औं मिनेटमा गोल किपरसँगको वान भर्सेस वानमा रश्मी कुमारी घिसिङको भली प्रहारलाई किपरले पञ्च गर्दै बचाइन्। रश्मी ६० औं मिनेटमा रेखालाई रिप्लेस गर्दै मैदान छिरेकी थिइन्। नेपाल खेलमा फर्कन सकेन्।
फिफा वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि रहेको छ। म्यानमार ५५ र नेपाल १०३ स्थानमा रहेका छन्।
नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई १-० ले हराएको थियो। म्यानमारसँग २-२ को बराबरी खेलेको थियो। म्यानमारले लिग चरणमा लेबनानलाई ३-१ ले र कीर्गिस्तानलाई ५-० ले हराएको थियो।