
काठमाडांै, २७ असार । नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल विद्यार्थी संघको बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले संगठनको १२ औं महाधिवेशनको मिति घोषणा गरेको छ ।
संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी राजधानीमा बुधबार पत्रकार सम्मेलनमार्फत दिएको छ ।
बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति गठन गरेको छ भने उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ। समितिले ५ दिनभित्र नियमावली तयार पार्नुपर्नेछ ।
यस्तै अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ भने उपाध्यक्ष नविन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए ।
महाधिवेशन सम्पन्न गर्न प्रचारप्रसार समिति, आवास तथा भोजन व्यवस्थापन समिति, शैक्षिक प्रतिवेदन समिति, सांगठनीक तथा राजनीतिक प्रतिवेदन समिति, स्वयंसेवक परिचालन समिति, मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, खानेपानी, यातायात, विवाद निरुपण र आर्थिक समिति गठन गरेको बताएको छ ।
बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरित गरेका मनोनयन खारेज गरेको घोषणा गर्दै विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमतबाट गरिने निर्णय समेत गरेको छ ।
नेपाल विद्यार्थी संघको बहुमतले महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका समेत सार्वजनिक गरेको छ ।