Prakash Adhikari February 28, 2025

काठमाडौँ, १६ फागुनः ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री के.पी. शर्मा ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालको हिमाली भेगका बासिन्दा विशेष गरी शेर्पा जातिको नयाँ बर्षको रुपमा मनाइँने ग्याल्पो ल्होसारका अवसरमा उहाँहरुले स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुको सुस्वास्थ्य,दीर्घायु,सुख शान्ति र समृद्धिको कामना गर्नुभएको छ।

 

समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ ।

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।

पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक खाप्सेलगायत परिकार खाएर हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउने उहाँले उल्लेख गर्नुभएको छ । संस्कृति, परम्परा र मान्यतालाई अनुशरण गर्दै मनाइने ग्याल्पो ल्होसारलगायत चाडपर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पुर्याउँदै आएका छन् ।

राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

पर्वले सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, १६ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिङ्गो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।

शेर्पा समुदायको महान् पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले पर्वलाई समाजमा सौहार्द, एकता, समझदारी, मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले पर्वका अवसरमा परिवार, साथीहरू र समुदायबीचमा भेटघाट, भोज, नृत्य र संगीतका कार्यक्रमहरू आयोजना हुनुले समाजमा परस्पर मेलमिलाप, स्नेह र समरसता बढाउनमा सघाउँने उल्लेख गर्नुभएको छ ।

यो पर्व नेपालको हिमाली भूभागमा बसोबास गर्ने आदिवासी जनजातिहरू शेर्पा, तिब्बती र योल्मो समुदायले मनाउने गरे पनि नेपालको विविधतायुक्त समाजमा सांस्कृतिक घुलनका कारण अन्य चाडपर्वमा जस्तै पछिल्लो समय अरू समुदायका मानिसको पनि यसमा उल्लेख्य सहभागिता जनाउने गरेका छन् । यसले राष्ट्रिय एकतालाई थप बलियो, प्रगाढ र सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई अक्षुण्ण बनाइराख्न सबैलाई उत्प्रेरित पनि गर्दछ ।

सामूहिक रूपमा एकअर्काको हात समाएर सुख र दुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनु, तुङ्गना (डम्याङ)को सङ्गीतमय वातावरण सृजना गर्नु यो पर्वको मौलिकता भएको उहाँको भनाइ छ । यसले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सजग र सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई प्रवाह गर्ने उपराष्ट्रपति यादवले बताउनुभएको छ ।

प्रधानमन्त्रीको शुभकामना: ‘ह्याप्पी ल्होसार’

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट उहाँले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

“आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन् । ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना ! सबैको जय होस् ”, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले लेख्नुभएको छ । तस्बिरमा ‘ह्याप्पी ल्होसार’ पनि लेखिएको छ ।
–––

Share Now