Prakash Adhikari March 1, 2025

काठमाडौँ, १६ फागुन : पूर्वप्रशासक परीक्षित नरसिंह राणाको जीवनीमा आधारित ‘धनबुबा परीक्षित नरसिंह राणा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी कोकिला राणाले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो प्रेरणाको स्रोत परीक्षित नरसिंह राणा रहेको बताउनुभयो । उहाँले पुस्तकबाट नैतिकता, आदर्शजस्ता कुरा युवापुस्ताले सिक्ने बताउनुभयो । उहाँले राणाले नै सञ्चयकोषलाई अहिलेको अवस्थामा पुर्याएको उल्लेख गर्दै सञ्चयकोषलाई बैंकमा रुपान्तरण गर्न खोजेको र त्यतिबेला राष्ट्रिय वाणिज्य बैंक स्थापना भएपछि उहाँको योजना पूरा हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा पुस्तकबारे समीक्षा गर्दै पत्रकार भीम घिमिरेले पुस्तकमा उल्लेख गरिएका कुराले राणा शासनको इतिहास सरल भाषामा बुझ्न सकिने बताउनुभयो । उहाँले राणा राजनीतिक दलका नेतासँग नडराउने निडर प्रशासक रहेको बताउनुभयो ।

साहित्यकार विमल भौकाजीले राणा परिवारको भएर पनि उहाँ नेपाल प्रजा परिषद्मा आवद्ध भएको बताउनुभयो । “उहाँ राणा परिवारको भए पनि सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीसँग प्रजा परिषद्को पक्षमा हिँड्नुभएको थियो”, उहाँले भन्नुभयो, “उहाँलाई गोली हान्ने तयारी गरिएको बेला कसैले राणा परिवारको व्यक्ति भनेपछि बच्नुभएको थियो । त्यसपछि गोरखा पठाइयो ।”

पुस्तकका सम्पादक डा करनबहादुर शाहले परीक्षित नरसिंह राणाको जीवनीबाट इमान्दारी सिक्न सकिने बताउनुभयो । विभिन्न पाँच अध्यायमा ४० जनाले उहाँका बारेमा लेख्नुभएको छ । पुस्तकका समीक्षक डा कपिल लोहनीले इमान्दारी कमी भएको बेला प्रकाशन भएको उहाँको जीवनीले नयाँ पुस्तालाई इमान्दारी के हो भनेर सिकाउने बताउनुभयो ।

विसं १९७३ मा जन्मिएका राणा अर्थ मन्त्रालयमा अधिकृत तहको सरकारी सेवामा प्रवेश गरेर २०३२ सालमा लोकसेवा आयोगको सचिवबाट निवृत्त हुनुभएको थियो । उहाँको २०४७ सालमा निधन भएको थियो ।

Share Now