
काठमाडौं, १७ फागुन । गण्डकी र कर्णाली प्रदेशका उच्चहिमाली भेगमा शुक्रवारदेखि हिमपात भएको छ । संबन्धित जिल्ला समाचारदाताहरुले दिएको जानकारी अनुसार गोरखा,मनाड.,मुस्ताड. बाग्लुड., मुगु र हुम्लामा हिमपात भएको छ ।
उपल्लो मुस्ताड.मा यस हिउँदमा पहिलो पटक हिमपात भएको हो भने हुम्लामा हिउँ परेको यो छैठौं पटक हो । हिउँदमा ढिलो गरी परेको हिमपातले स्याउ लगायतका फूल झर्न सक्ने भनेर किसानहरु चिन्तित छन् ।
उपल्लो मुस्ताङको उच्च लेकमा शुक्रबार बिहानदेखि हिमपात भएको छ । उच्च हिमाली लेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा भने हिमपात हुन सकेको छैन ।
उपल्लो मुस्ताङमा यो मौसमको पहिलो हिमपात परेको स्थानीय बताउँछन् । चराङबाट माथि उत्तरी कोरला नाकासम्मको उच्च लेकमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । उच्च लेकमा हिमपात भएसँगै यहाँका डाँडाकाँडा सेताम्मे हुन थालेका उहाँले बताउनुभयो ।
“ शुक्रवार बिहानैदेखि हिउँ पर्ने सम्भावना थियो”, प्रमुख पौडेलले भन्नुभयो, “बस्तीमाथिको लेकमा हिउँ परे पनि बस्ती क्षेत्रमा भने हिउँ परेको छैन, आंशिक वर्षा भने भएको छ ।” उहाँका अनुसार उच्च लेक र खर्कमा हिमपात भएसँगै बस्ती आसपासका डाँडाकाँडा मनमोहक र सुन्दर देखिएका छन् ।
“यसअघि बर्सेनि उपल्लो मुस्ताङमा कात्तिकमा हिउँ पर्ने गथ्र्यो । हिउँको समयमा तीन–चारपटकसम्म हिउँ पर्ने गर्दथ्यो । यस वर्ष भने पहिलो पटक हिउँ परेको छ”, पौडेलले भन्नुभयो । यस क्षेत्रमा हिउँ परेसँगै उपल्लो मुस्ताङ र उत्तरी कोरलानाका अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक हिउँ खेल्दै रमाइरहेका उहाँको भनाइ छ ।
यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ क्षेत्रमा पनि सामान्य हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । उहाँले शुक्रवार बिहानदेखि सामान्य हिमापात भए पनि तापक्रम बढेकाले हिउँ जमिनमा जम्न नसकेको बताउनुभयो । उहाँका अनुसार मुक्तिनाथमा फागुनको पहिलो साता पनि आंशिक हिमपात भएको थियो ।
मुक्तिनाथ क्षेत्र र उपल्लो मुस्ताङका उच्च लेकमा आंशिक हिमपात भए पनि तल्लो मुस्ताङमा हिमपात हुन सकेको छैन । हिउँ पर्ने सम्भावना रहेको बताउँदै उत्तरी क्षेत्रमा आएको हुरीबतासले हिउँ पर्न नसकेको जोमसोमका स्थानीय अजित थकालीले बताउनुभयो । मुस्ताङको मौसम प्रतिकूलतासँगै अत्यधिक चिसो बढेको छ । हिउँ परेमा न्यानो महसुस हुने भन्दै हिउँ नपर्दा चिसो बढेकाले जनजीवन थप प्रभावित बनेको उहाँको भनाइ छ ।
हिउँदयामको अनुकूल समयमा परेको हिउँ किसानका लागि बरदान हुँदै आएकोमा अहिले बेमौसमे हिउँले किसानलाई क्षति पु¥याउने स्थानीय थकालीले उल्लेख गर्नुभयो । “गर्मीयाम सुरु हुन लागेको र यहाँको शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूलमा फूल फुल्न थालेकाले भारी हिमपातले स्याउसहित अन्य अन्नबालीलाई असर पुग्न सक्ने सम्भावन छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय जलवायु परिवर्तनको असरले मुस्ताङमा भारी हिमपात हुन सकेको छैन । जलवायु परिवर्तनको असरका कारण कुनै वर्ष भारी हिउँ पर्ने, कुनै वर्ष आंशिक र कुनै वर्ष हिउँ नै नपर्ने गरेको स्थानीय बताउँछन् ।
ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित
भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् ।
निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उहाँको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताउनुभयो । बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकीनै प्रभावित बनेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “एक÷दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो ।”
लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ ।
उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ । शुक्रवार दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिनुभयो । हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उहाँको भनाइ छ ।
जुम्लामा हिमपात र हल्का वर्षा हुँदा किसान खुसी
जुम्लामा आज बिहानैदेखि हिमपात र हल्का वर्षा हुँदा यहाँका किसान खुसी भएका छन् । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयबासी मुनबहादुर एडीले जानकारी दिनुभयो ।
ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएकाछन् । जिल्लामा यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । गएको असोज महिनादेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । लामो समयपछि हिमपात भएपछि सुक्दै गएका हिउँदे बालीनालीलाई सहज भएको यहाँका किसान बताउँछन् ।
जिल्लाका आठवटै स्थानीय तहका धेरैजसो ठाउँमा सिँचाइ नहुने पाखो जमिन छ । जहाँ कृषकले आकासे वर्षादका भरले जौ गहुँ बाली लगाउने गर्दछन् । वर्षा नहुँदा कतिपय पाखोमा रहेको जमीन बाँझो रहेको छ ।
अब हिउँसँगै पानीसमेत परेको छ । हिउँदे समयमा लगाएको, जौ गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का स्थानीय किसान दुर्गा शाहीले बताउनुभयो । जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दिपकसिँह धामीको भनाइ छ ।
जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दुरीका सवारी साधन फाट्टफुट्ट चलेको तिला कर्णाली यतायातले जनाएको छ । गत २४ घण्टामा जिल्लामा ३३ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
रारा लेकमा पनि हिमपात भएको छ । ताजा हिउँले नेपालको प्रमुख पर्यटकीय क्षेत्र राराको सुन्दरता अझ झल्केको छ ।
शुक्रवार हुम्लामा पुनःहिमपात भएको छ । हिमाली जिल्ला हुम्लामा परेको यो छैटौँपटकको हिमपात हो। हिमपातले चिसो बढेको छ भने हवाई सेवा अवरुद्ध भएको छ ।
हिमपातले मनास्लु क्षेत्रमा पर्यटकलाई कठिनाइ
शुक्रबारदेखि भएको बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । शुक्रवार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन् ।
चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएका बताउनुभयो ।
“साम्दोमा रहेका होटल जम्मालमा १४ जना पर्यटकले आश्रय लिएर बसिरहेका छन्”, होटलका सञ्चालक निमादोर्जे लामाले भन्नुभयो, “होटल याक र धर्मशालामा गरी थप नौ जना पर्यटक लार्केपासतर्फ जान नसकी रोकिएका हुन् ।” पर्यटक जोखिम मोलेर पदयात्रा गर्न नचाहने भएकाले होटलमा आश्रय लिएर बसेका उहाँले बताउनुभयो ।
अहिले त्यस क्षेत्रमा जमिनबाट करिब १० इन्चजति बाक्लो हिउँ जमेको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिनुभयो । बाक्लो हिमपातका कारण अत्यधिक चिसो बढेको र जनजीवन प्रभावित भएको उहाँको भनाइ छ ।
तत्कालै हिमपात रोकिने कुनै अवस्था नरहेकाले पर्यटक अझै केही दिन साम्दोमा क्षेत्रमा रोकिनुपर्ने हुनसक्ने अनुमान गरिएको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण घरबाहिर निस्कन नसक्नुका साथै दैनिक काम गर्न र स्थानीवासीलाई घाँसदाउरा गर्न कठिनाइ भएको लामाले बताउनुभयो ।