Prakash Adhikari March 1, 2025

ह्वाइटहाउस(क्यापिटलहिल, वाशिंटन डीसी, अमेरिका), १७ फागुन (बीबीसी) । संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उहाँका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भनाभान भएको छ।

ह्वाइट हाउसस्थित ओभल अफिसमा भएको वार्तामा जेलेन्स्कीसंग ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको चर्काचर्की परेको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका बाहिरिने चेतावनी दिनुभयो।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर ूपुटिनसँग सम्झौता नगर्नेू बताउनुभयो।

पत्रकार सम्मेलन रद्द

विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो।

पछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पसँग हुन गएको विवाद ूदुवै पक्षका लागि ठीक नभएकोू प्रतिक्रिया दिनुभयो।

सो क्रममा उहाँले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताउनुभएको छ।

ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताउनुभयो। अर्कोतर्फ जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गर्नुभयो ।

ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच तर्कवितर्क भइरहँदा अमेरिकाका लागि युक्रेनी राजदूत तनावमा देखिनुभएको थियो ।

त्यतिखेर उहाँले पुर्पुरो र गालामा हात राखेको भिडिओमा देखिन्छ। उहाँ दुई नेताहरूको नजिकै बस्नुभएको थियो ।

दुई नेताबीच चर्काचर्की भएका कारण भेटपछि हुने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिने बाटो देखाइयो।

भेटघाटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा एउटा पोस्ट गर्दै जेलेन्स्कीमाथि कैयौँ आरोप लगाउनुभएको छ।

उहाँले लेख्नुभएको छ, “भेटघाटका क्रममा कैयौँ कुरा आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनकि अमेरिका त्यसमा संलग्न छ। मलाई अरू कुनै फाइदा चाहिएको छैन म त केवल शान्ति चाहन्छु।उनले अमेरिकाको अपमान गरेका छन्। यदि उनी शान्ति चाहन्छन् भने फेरि यहाँ आउन सक्छन्।”

भनाभनको घटनापछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले पनि युक्रेनले शान्ति चाहेको उल्लेख गर्नुभएको छ।

उहाँले लेख्नुभएको छ, “धन्यवाद अमेरिका तिम्रो समर्थनका लागि, धन्यवाद यो भ्रमणका लागि। धन्यवाद अमेरिकी राष्ट्रपति, कङ्ग्रेस र अमेरिकी जनता। युक्रेन केवल र केवल शान्ति चाहन्छ अनि हामी त्यसैका लागि काम गरिरहेका छौ ।”

नेटोका लागि सङ्कट

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच ओभल अफिसमा भएको वादविवादले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका निम्ति महत्त्वपूर्ण सङ्कटलाई सङ्केत गरेको बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोअन बताउनुहुन्छ ।

दुई नेताहरूबीच ओभल अफिसमा विवाद हुनुअघि पनि आपसी सम्बन्ध राम्रो थिएन।

ट्रम्पले जेलेन्स्कीलाई यसअघि नै निरङ्कुशको सङ्ज्ञा दिइसक्नुभएको छ भने युक्रेनले युद्ध थालेको पनि भनिसकेका छन्।

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडनले सुमधुर बनाएको अमेरिका र युक्रेनबीचको गठबन्धन अहिले धुज्जाधुज्जा हुन पुगेको छ।

सार्वजनिक रूपमा भएको चर्काचर्कीले नेटो र अमेरिकाबीच देखिन सक्ने एउटा महत्त्वपूर्ण सङ्कटलाई पनि सङ्केत गरेको छ।

युरोपेली राष्ट्रहरूको सुरक्षाबारे अमेरिकी प्रतिबद्धतालाई लिएर युक्रेनबाहिर थप आशङ्का र प्रश्नहरू खडा हुने छन्।

नेटोका साझेदारमाथि गरिने आक्रमण अमेरिकामाथि आक्रमण गरिए सरह मान्ने भनेर सन् १९४९ मा ह्यारी ट्रूम्यानले गरेको वाचालाई ट्रम्पले जारी राख्ने छन् वा छैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न हुने छ।

युक्रेनले जित्न नसक्ने

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन अहिले ठूलो सङ्कटमा रहेको भन्दै रुससँग युद्धमा जित्न नसक्ने बताउनुभएको छ।

उहाँले भन्नुभयोः “युक्रेन यतिखेर ठूलो सङ्कटमा छ। तपाईँहरू यो लडाइँ जित्न सक्नुहुन्न। तर यदि तपाईँ हामीसँग हुनुहुन्छ भने लडाइँबाट बाहिरिने मौका तपाईँसँग छ।”

भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकाले गरेको सहायताबारे पनि चर्चा गर्नुभयो।

उहाँले भन्नुभयो, “हामीले तपाईँहरूलाई ३५० अर्ब डलर दिएका छौँ। सैन्य उपकरण दिएका छौँ। यदि हामीले सैन्य सहायता दिन छोड्यौँ भने यो लडाइँ दुई सातामै सकिन्छ।”

“यदि म यदि म तपाईँहरू (युक्रेन र रुस) लाई एकसाथ उभ्याउन सकिनँ भने तपाईँ कहिल्यै सम्झौता गर्न सक्नुहुन्”, ट्रम्पले अगाडि थप्नुभयो।

Share Now