Prakash Adhikari March 3, 2025

-विकी वोङ । बीबीसी न्यूज

लण्डन(संयुक्त अधिराज्य), १९ फागुन । संयुक्त अधिराज्य(यूके)का प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री स्टार्मरले यूके, फ्रान्स र अन्य देशहरू पनि इच्छुकहरूको गठबन्धनमा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने बताएका छन्।

“हामी आज इतिहासको दोबाटोमा छौँ”, युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले भन्नुभएको छ। उक्त सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनुुहुन्थ्यो।

सम्मेलनपछि युक्रेनले बलियो साथ पाएको महसुस गरेको र लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता देखिएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो।

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच चर्काचर्की भएको दुई दिनपछि लन्डनमा यो सम्मेलन आयोजना भएको थियो।

“साँच्चिकैको शान्ति र सुरक्षाको सुनिश्चितताका लागि युरोपमा हामी सबै मिलेर अमेरिकासँग पनि सहकार्यको आधार तयार गर्न काम गरिरहेका छौँ “, सम्मेलनपछि जेलेन्स्कीले भन्नुभयो।

चारबुँदे सहमतिमा के छ ?

सम्मेलनपछि पत्रकार सम्मेलनमा यूकेका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताउनुभएको छ।

  • युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने
  • दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने
  • शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने
  • युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न ‘इच्छुकहरूको गठबन्धन’ विकास गर्ने

स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गर्नुभएको छ। यूकेको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ।

यो सहयोग यसअघि घोषणा गरिएको २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिभन्दा फरक हो। यसअघि स्टार्मरले रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट युक्रेनी सैन्य सामग्रीका उक्त ऋण दिने घोषणा गर्नुभएको थियो।

“हामीले विगतका गल्तीहरूबाट सिक्नुपर्छ। हामी सहजै भङ्ग हुनसक्ने कमजोर सम्झौता स्वीकार गर्दैनौँ। कुनै पनि सम्झौता बलियो समर्थन आवश्यक छ”, उहाँले भन्नुभएको छ।

गठबन्धनमा कुन-कुन देश सहभागी हुँदै छन् ?

यूकेका प्रधानमन्त्री स्टार्मरले युक्रेनलाई सहयोग गर्न इच्छुक देशहरूको गठबन्धनमा सहभागी हुन सहमति जनाएका देशहरूबारे खुलाउनुभएको छैन।

उहाँले यसमा प्रतिबद्धता जनाएका देशहरूले वास्तविक तत्कालीन आवश्यकताका आधारमा योजनालाई तीव्र बनाउने बताउनुभएको छ।

उहाँले यूकेले जमिनमा बुटहरू र आकाशमा विमानहरू सहित आफ्नो प्रतिबद्धता दर्शाउने बताउनुभएको छ।

“युरोपले बोझ उठाउनुपर्छ”, उहाँले भन्नुभयो। उहाँका अनुसार यो सहमतिमा अमेरिकी समर्थन आवश्यक पर्छ र रुसलाई पनि यसमा सहभागी गराइने छ। तर मस्कोले यसका सर्तहरू हेरफेर गर्न पाउँदैन।

“मलाई प्रस्ट पार्न दिनुहोस्। स्थायी शान्तिको तत्कालीन आवश्यकतामा हामी ट्रम्पसँग सहमत छौँ। अब हामी सँगसँगै मिलेर त्यो स्थापित गर्नुपर्छ”, स्टार्मरले भन्नुभयो।

ट्रम्पको नेतृत्वमा अमेरिका विश्वासयोग्य सहयोगी देश भए नभएकोबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “गत शुक्रवार जे भयो त्यो कसैले देख्न चाहेको थिएन। अमेरिका अविश्वसनीय सहयोगी भएको मलाई लाग्दैन।”

सम्मेलनमा फ्रान्स, पोल्यान्ड, स्वीडन, टर्की, नर्वे, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, द नेदरल्यान्ड्स, रुमेनिआ, फिनल्यान्ड, इटली, स्पेन र क्यानडा सहभागी थिए।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले ‘युरोपलाई पुन: अस्त्रयुक्त’ बनाउनु अत्यावश्यक भएको बताउनुभयो।

नेटो महासचिव मार्क रुटको पनि यस्तै भावनाको टिप्पणी छ। उहाँले युरोपेली देशहरू ‘लडाइँ जारी रहँदासम्म लड्न चाहिने कुराहरूको लागि’ युरोपेली देशहरू ‘अघि सरेको’ बैठकमा देखिएको बताउनुभयो।

जेलेन्स्की खनिज सम्झौताको पक्षमै

सम्मेलनपछि जेलेन्स्कीले ब्रिटेनका राजा चार्ल्स तृतीयसँग भेट गर्नुभएके थियो।

त्यसपछि भएको अन्तिम पत्रकार सम्मेलनमा जेलेन्स्कीले अमेरिकासँग खनिजसम्बन्धी सम्झौता गर्न आफू तयार रहेको बताउनुभयो ।

अमेरिकालाई युक्रेनमा रहेका खनिज भण्डारणमा पहुँच दिने सम्झौता जेलेन्स्कीको अमेरिका भ्रमणका क्रममा हुने अपेक्षा गरिएको थियो। तर ओभल अफिसमा ट्रम्पसँग चर्काचर्की परेपछि युक्रेनी प्रतिनिधिमण्डल हस्ताक्षरका लागि निर्धारित कार्यक्रम अघि नै त्यहाँबाट फर्किएको थियो।

आइतवार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले रुससँग ‘शान्ति सम्झौता नभएसम्म’ अमेरिका र युक्रेनबीच खनिजसम्बन्धी सम्झौता नहुने चेतावनी दिनुभएको छ।

सम्मेलनपछि सम्झौता के हुन्छ भन्ने बीबीसीको प्रश्नमा जेलेन्स्कीले उक्त सम्झौता हस्ताक्षरका लागि तयार रहेको प्रतिक्रिया दिनुभयो।

“टेबुलमा रहेको सम्झौता यसका पक्षहरू तयार रहेको अवस्थामा जुनसुकै बेला हस्ताक्षर हुनसक्छ”, उहाँले भन्नुभयो।

आइतवारको सम्मेलनसँगै कूटनीतिक क्षेत्रमा निकै व्यस्त साता समापन भएको छ। उक्त साता फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ, यूकेका प्रधानमन्त्री सर किअर स्टार्मर र युक्रेनी राष्ट्रपति जेलेन्स्की वाशिङ्गटन भ्रमणमा पुग्नुभएको थियो।

युक्रेनी राष्ट्रपति जेलेन्स्की र उहाँका अमेरिकी समकक्षी डोनल्ड ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भनाभन भएको थियो। ट्रम्पले जेलेन्स्कीलाई ूतृतीय विश्वयुद्ध निम्त्याउन चाहेकोू आरोप लगाएपछि जेलेन्स्की चिढिनुभएको थियो।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो विश्वास देखाउँदै युक्रेनमा जारी युद्ध अन्त्य गर्न चाहेको बताउनुभएको छ। तर उहाँको कुराले कैयौँ पश्चिमा सहयोगी देशहरूमा आशङ्का पैदा भएको छ।

अमेरिकाले युक्रेनलाई सहभागी नगराई रुससँग शान्ति वार्ता आरम्भ गरेको छ।

अमेरिकी नेताले एक बिन्दुमा युक्रेनमाथि युद्ध सुरु गरेको आरोप लगाउनुभएको थियो। सत्य कुरा त सन् २०२२ को फेब्रुअरी २४ मा रुसले पूर्ण स्तरको आक्रमण गरेपछि युक्रेन युद्ध सुरु भएको थियो।

Share Now